हेटौंडा । लकडाउनका कारण नयाँ शैक्षिकसत्रको पठनपाठन सुरु गर्न समस्या भएपछि हेटौंडामा रहेको सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले असार १ गतेदेखि रेडियो पाठशाला शुरु गर्ने भएको छ ।

विद्यालयले प्रविधिको उपयोग गर्दै एफएम रेडियोबाट रेडियो पाठशाला शुरु गर्न लागेको हो । विद्यालयले  सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज र हेटौंडा एफएम ९६.६ मेगाहर्जबाट रेडियो पाठशाला शुरु गर्ने भएको हो ।

रेडियोसँगै   टेलिभिजन र अनलाइनबाट पनि कक्षा सुरु गर्ने तयारी गरेको विद्यालयका प्रधानाध्यापक वीरवंश बैंठाले जानकारी दिए ।  वेवसाइटमार्फत् वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको विद्यालयले प्रविधिको उपयोग गरेर रेडियो, टेलिभिजन र अनलाइनबाट पढाउन सुरु गर्न लागेको बैंठाले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जेठ १८ मा विज्ञप्ती जारी गर्दै असार १ गतेबाट वैकल्पिक प्रणालीबाट पठन–पाठन शुरु गर्न आग्रह गरेका थिए ।  विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ ले सृजना गरेको विषम परिस्थितिका कारण शिक्षा क्षेत्र पनि प्रभावित भएको भन्दै मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७’ जारी गरिसकेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अन्य क्षेत्रसँगै शैक्षिक क्षेत्रपनि बन्द रहेको छ । तर लकडाउन कहिलेसम्म रहने ? कहिलेबाट कक्षा सुरु हुने अन्यौलता भएपछि जिल्लाको  नमुना सामुदायिक विद्यालय आधुनिकले प्रविधिको उपयोग गरेर रेडियो, टेलिभिजन र अनलाइनबाटै पढाउने तयारी गरेको प्रधानाध्यापक बैंठाले जानकारी दिए ।

कक्षा ९ र १० का नेपाली र अंग्रेजी दुबै माध्यमका विद्यार्थीलाई असार १ गतेबाट नेपाली, अंग्रेजी, सामाजिक र जनसङ्ख्या विषयको सिकाइ सुरु गरिने उनले जानकारी दिए ।

लकडाउन खुलेपनि तत्कालै विद्यालय सञ्चालनको वातावरण नभएकाले विद्यार्थीलाई प्रविधिको उपयोग गरेर रेडियो, टेलिभिजन र अनलाइनबाटै भएपनि पढाउदै जाने तयारीमा विद्यालय लागेको बैंठाको भनाइ छ । ९ र १० का नेपाली र अग्रेजी दुबै माध्यमबाट कक्षा सुरु गर्दा ९० प्रतिशत भन्दा धेरै विद्यार्थीले पढ्न पाउने प्रअ बैंठाले जानकारी दिए ।

विद्यालयले हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म रेडियो सन्देश १०६.९ मेगाहर्जबाट र रेडियोको फेशबुक पेजबाट बाट पढाउने भएको छ भने ११ बजेदेखि १२ बजेसम्म हेटौंडा एफएमबाट पढाउने भएको छ ।  अनलाइनबाट विद्यार्थीसँगै अभिभावकलाई पनि आफ्ना नानीबाबुहरुलाई कसरी अध्ययनमा लगाउने ? के पढाउने भनेर विद्यालयले छलफल गर्ने उनको भनाइ छ ।

विद्यार्थीहरुका लागि आवश्यक भिडियोहरु अभिभावकलाई उपलब्ध गराएर हेर्न लगाउने लगायतका काम पनि हुने प्रअ बैंठाले जानकारी दिए ।  अनलाइन कक्षामा अभिभावकको सहयोग आवश्यक पर्ने भएकाले विद्यालयले अभिभावकसँग पनि छलफल गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्