काठमाडौं । सरकारले कोरोना भाइरसको माहामारीका कारण लामोसमय बन्द रहेको विद्यालयको पठन–पाठन शुरु गर्ने तयारी गरेको छ । सरकारले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठन–पाठन सञ्चालनको तयारी गरेको हो ।

सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण शैक्षिक वर्ष खेर जान नदिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विद्यालयहरुमा नयाँ शैक्षिक वर्षको पठन–पाठनको व्यवस्थासमेत मिलाइने बताए । प्रधानमन्त्रीले भने– ‘आवश्यक नीतिगत व्यवस्थासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठन–पाठन सञ्चालनको काम अघि बढाउनेछ ।’

कोरोना भाइरसको महामारीको कारण भएको लकडाउनका कारण नयाँ शैक्षिक सत्र शुरु भएपनि विद्यालयमा पठन–पाठन हुन सकेको छैन । अर्कोतिर गतवर्षकै एसईई र कक्षा ११ र १२ को परीक्षासमेत सञ्चालन हुन सकेको छैन । लामोसमय शैक्षिक संस्था पूर्णत बन्द गरेर राख्न नहुने, शिक्षकहरुको परिचालन छिटो गर्नुपर्ने भनेर सरोकारवालाहरुले बताउँदै आएका थिए । अन्ततः सरकारले विकल्पहरुको प्रयोग गर्दै छिट्टै विद्यालय सञ्चालन गर्ने भएको हो ।

२०७७ जेष्ठ १२ गते १९:४४मा प्रकाशित

प्रतिकृया दिनुहोस्