काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ । उनले भने, ‘हामी नतिजा प्रकाशनमा जुटिरहेका छौं । प्राविधिक कठिनाइ नभए आजै नतिजा प्रकाशन गर्छौं ।’

अध्यक्ष शर्माले भने,– ‘१ बजेसम्म हाम्रो टेक्निकल कुरा कन्फर्म हुन्छ । त्यसपछि प्रोसेसिङ हुन मात्रै ३-४ घण्टा लाग्छ । टेक्निकल टिमले अहिले हेरिराख्नु भएको छ । क्लियर नभएसम्म हामी यसै भन्न सक्दैनौं ।’ सम्भव भएसम्म आजै प्रकाशन गर्ने तयारी रहेको उनको भनाइ छ । ‘टेक्निकल कुरा कन्फर्म भएपछि बोर्डको बैठक बसेर निर्णय गर्न ठुलो कुरा भएन् । त्यो त एक छिनको काम हो ।’ उनले भने ।

आज सम्भव नभएको खण्डमा भोलि प्रकाशन गरिने उनको भनाई छ । उक्त परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी थिए ।  यो पटक बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गर्न लागेको छ । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

प्रतिकृया दिनुहोस्