काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं शिक्षा विभागका संयोजक हरिप्रसाद नेपालले नेपाली कांग्रेसले छुट्टै शिक्षा नीति ल्याउने बताएका छन् । वर्तमान सरकारले शिक्षालाई सही दिशा दिन नसकेको र कोभिड महामारीलाई सम्बोधन गर्न नसकेको भन्दै कांग्रेसले छिट्टै शिक्षा नीति ल्याउने उनको भनाइ थियो ।

लोकतन्त्रका लागि शिक्षा अभियान नेपालले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा बोल्दै नेपालले आउँदो नेपाली कांग्रेसको महाधिवेशनमा दलको तर्फबाट शिक्षा नीतिको प्रस्ताव पेश गर्ने संकल्पका साथ शिक्षा विभाग जुटिरहेको त्यस प्रस्तावित शिक्षा नीतिलाई महाधिवेशनबाट पास गरेर सार्वजनिक गरिने स्पष्ट पारे । राजनीतिलाई शिक्षा नीतिले निर्देशित गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले अब युग सुहाउँदो र बजारको मागलाई सम्बोधन हुनेगरी कांग्रेसले छुटटै शिक्षा नीति सार्वजनिक गर्ने बताए ।

नेकपाले चुनावी घोषणा पत्रमा ७० प्रतिशत शिक्षालाई प्राविधिक धारमा अगाडि बढाउने र कम्तिमा शिक्षामा २० प्रतिशत वजेट विनियोजित गर्ने प्रतिबद्धता जनाएपनि पुरा नगरेको आरोप लगाउँदै उनले प्रविधिक शिक्षालय थप्नुपर्नेमा रेल र पानी जहाज कार्यालय खोल्नमा सरकार केन्द्रित भएको टीप्पणी गरे ।

शिक्षा विभागका सहसंयोजक तथा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले सशक्त चेतनाले लोकतन्त्रको जगेर्ना हुने र चेतनाको मूल आधार चेतना भएकाले लोकतन्त्रको जगेर्ना शिक्षाको विकासबाट मात्रै हुने बताए । सार्वजनिक शिक्षामा सुविधै सुविधा हुँदापनि सिकाइ किन कमजोर भयो, अभिभावकको आकर्षण निशुल्क सार्वजनिक विद्यालय छाडेर महंगा निजी विद्यालयमा किन भयो त ? यस विषयमा सरकारले अध्ययन र कार्ययोजना बनाउन असफल भएको उनको भनाइ थियो ।

सार्वजनिक विद्यालयका शिक्षकलाई अझैपनि तिरस्कार र अपमान भइरहेको भन्दै शिक्षकलाई सम्मान गर्दै उत्कृष्ट जनशक्तिलाई शिक्षण पेशामा आकर्षण गर्ने कानून बनाएर अगाडि बढ्नुपर्ने उको भनाइ थियो । कतै जागिर नपाए शिक्षण पेशामा आउने वातावरणमा सुधार गर्नुपर्नेमा उनको जोड थियो । शिक्षकलाई विद्यार्थीको सिकाइ प्रति जवाफदेही बनाउने, दण्ड र पुरस्कारको व्यवस्था गर्ने वारम्वार मौका दिँदा पनि नसुध्रने शिक्षकलाई बिदागर्ने नीति आवश्यक रहेको उनको भनाई थियो ।

नेपाली कांग्रेसका शिक्षा विभागका सचिव कृष्ण पौडेलले समयको आवश्यकता, बजारको माग र मुलुकको अवस्था एकातिर र शिक्षाको गति एकातिर हुँदा मुलुकले समृद्धिको गति लिन नसकेको बताए । उनले अब लोकतन्त्रको आधार मजवुत पार्न र मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउन शिक्षामा आमूल परिवर्तनको खाँचो औंल्याए ।

नेपाल शिक्षक महासंघका निवर्तमान अध्यक्ष केशव निरौलाले लोकतन्त्रको आधार बलियो बनाउनका लागि शिक्षा मूलभूत तत्व रहेको बताए । अब कांग्रेसले शिक्षालाई प्राथमिकता दिँदै अगाडि बढ्नुपर्ने बताए । तत्कालका लागि नेपाली कांग्रेसको शिक्षा विभागले कोभिड–१९ ले इसिडि देखि युनिभर्सिटी शिक्षामा पारेको प्रभाव सम्बन्धमा दलको धारणा प्रष्ट पारिदिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रमको अध्यक्ष एवं लोकतन्त्रका लागि शिक्षा अभियान नेपालका संयोजक गोकर्ण वानियाले लोकतन्त्रलाई मजवुत बनाउँदै सार्वजनिक शिक्षाको रुपान्तरण गर्नका लागि अभियान शुरु गरिएको बताए । अब अभियानले केन्द्रदेखि स्थानीय तह सम्म सार्वजनिक शिक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि बहस, अन्तक्र्रिया र छलफल सञ्चालन गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा शिक्षासँग सम्बन्धीत देशभरका झण्डै चारसय सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभाग सदस्य एवं निलवाराही मावि कालिमाटीकी प्रअ डा. जानुका नेपाललले सहजकर्ताको भुमिका निर्वाह गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्