काठमाडौं । शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध व्यंग्य गरिएका कार्टुन चित्रको दुईदिने प्रदर्शनी सम्पन्न भएको छ । ‘ब्ल्याकबोर्ड’ शीर्षकमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सोमबार र मंगलबार भएको प्रदर्शनीमा दुई दर्जन कार्टुनिस्टका ६५ वटा कार्टुन राखिएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको आयोजना र कार्टुनिस्ट क्लब अफ नेपालको सहयोगमा कार्टुन प्रदर्शनी गरिएको हो ।

सम्मेलनमा मुख्य आकर्षणका रुपमा ‘ब्ल्याकबोर्ड’ शीर्षकमा ६५ वटा शैक्षिक कार्टुन प्रदर्शनी गरिएका हुन् । राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको सो प्रदर्शनी पुस ११ देखि १२ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शित थियो ।

कार्टुनहरुमा मूलतः कोरनाकालमा भोग्नुपरेको शास्ती, विद्यार्थीको सिकाइ क्षति, अहिले सार्वजनिक शिक्षाले भोग्नुपरिरहेको दुरावस्था र यसमा जवाफदेहिताको खोजीलाई मुख्य विषयवस्तु बनाइएको छ । कार्टुनका सन्देशले शिक्षाका नीति निर्माता, तीनै तहका सरकार, शिक्षक, विद्यार्थी, अभिभावक, अभियन्तालगायत सबै सरोकारवालालाई घच्घच्याउँने एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले बताउनुभयो । यस्तै, कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिजले भन्नुभयो, ‘अवश्य पनि कार्टुनले नीति बनाउने तर कार्यान्वयन नगर्नेलाई घोच्नेछ । जवाफदेही बनाउनेछ । अनि, सार्वजनिक शिक्षा सुधार्न घच्घचाउनेछ । कार्टुनका सन्देश सिंहदरबारदेखि विद्यालयका कक्षाकोठा र अभिभावकका कानसम्मै पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।’

प्रदर्शनीमा अशोकमान सिं, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, केशव राज खनाल, रवि मिश्र, भानु भट्टराई, रवीन्द्र मानन्धर, दीपक गौतम, आर के थापा, योगेश खपांगी, कृष्णगोपाल श्रेष्ठ, राजेश मानन्धर, उमेशचन्द्र अधिकारी, सुजिता महर्जन, सानुराज डंगोल, सुदर्शन सिग्देल, सागर शाह, रामहरि रिमाल, पानसिंह तमोर, महेश बस्ताकोटी, विरोचन मल्ल, विश्व थापा र देव कोइमीका कार्टुन राखिएका थिए ।प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतिलाई व्यंग्य गरेका थिए ।

प्रतिकृया दिनुहोस्