कविताः गरिखाने शिक्षा

Avatar photo

Byएजुकेशन पाटी

३ असार २०७७, बुधबार
नानीमैया केसी

आधारभूत शिक्षा सँगै सीप अनि रोजगार
कापी कलम सँगै सिक्न चलाउन औजार
डाँडा, पाखा, भिर र पखेरा बनुन देवालय
सीप सिकाइको मुख्य थलो भनुन् विद्यालय ।।

विविधतामा एकताको थलो हाम्रा पाठशाला
रोजगारीको कारखाना बन्न आधारशाला
अनुसन्धानको केन्द्र बनुन् हाम्रा विद्यालय
योग,ध्यान, प्रणायम सिक्ने बनून ज्ञानालय ।।

गरिखाने, स्वावलम्वी, स्वाभिमानी अबको शिक्षा
स्वदेशमै रोजगारी होस् आम जनको इच्छा
फलफूल, तरकारी उत्पादन, कतै नर्सरी
पशुपालन गर्छन् कतै, मिल्छ स्व–रोजगारी ।।

उपयोग होस् जल जंगल खनिज सम्पदा
कतै खुलोस् प्रयोगशाला, कतै उद्योग धन्दा
संघ र प्रदेश कार्यान्वायन तर्फ लाग्नुपर्छ
केन्द्रमुखी नभई स्थानीय तह, आफै जाग्नुपर्छ ।।

(केसी श्री कालीदेवी मावि फूलासी पोखरी मन्थली–१४, रामेछापकी शिक्षक हुन् ।)

प्रतिकृया दिनुहोस्