कविताः प्रकृतिसँग पराजय

Avatar photo

Byएजुकेशन पाटी

१७ असार २०७७, बुधबार

जगतको अस्तित्व नै नामेट पार्न उठे झैँ प्रकृति
एकपछि अर्को गर्दै जुर्मुराइ रहेकाछन् विपत्ति
उद्योगधन्दा पेसा व्यपार सारा बन्दाबन्दीको बेला
कोरोना महामारी सँगै सलहको भोकमारी मेला ।।

बाढी, पहिरो, चट्याङ भूकम्पले थिलथिलो छ धर्ती
फेरि अर्को बज्रपात मनुष्यमाथि सलहको चर्ती
छ मानवजाती अन्योलमा आज विज्ञान थल्लियो
जगतैभरि त्यही विनासकारी सलह फैलियो ।।

न चाहियो अस्त्रशस्त्र, न बाहुबल, न बुद्धिवाला नै
निमिट्यान्न पारी सारा हरियाली रजाई उसको नै
धन, बल, बुद्धि, विद्या, प्रकृतिसँग हुन्छन् पराजय
छ नियम एकैनासे यहाँ, को भयो र विजय ।।

न तर्क लड्छ, न विचार बढ्छ, न त तथ्य पहिलिएछ
खोजमा तम्सिएको वैज्ञानिक, दुविधामै अल्झिएछ
मनुष्यका लागि सलह या कोरोना कहर उस्ताउस्तै
लाग्छ, सृष्टिको अन्तिम घडी टाढा छैन जस्तै ।।

 

प्रतिकृया दिनुहोस्