सिकाइमा भाषाको प्रभाव

Avatar photo

Byएजुकेशन पाटी

२१ भाद्र २०७७, आईतवार
नगेन्द्रराज पौडेल

बालबालिकालाई सिकाइका लागि भाषाको महत्वपुर्ण भूमिका हुन्छ । भाषा विज्ञानले मानव अवयवद्वारा उच्चारित सार्थक ध्यनि संकेतको व्यवस्थालाई मात्र भाषा मानेको छ । तर व्यवहारमा यसको अर्थ, क्षेत्र र उपादेयता योभन्दा धेरै परसम्म जान्छ । खासगरी पहिलो भाषा ( मातृभाषा ) को प्रभावमा हुर्के, बढेका बालबालिकाहरुका लागि दोस्रो भाषाको सिकाइ यादृच्छिकताको कारण जटिल बन्न जान्छ । अहिले चर्चामा आएको वैकल्पिक सिकाइ विधिको प्रयोगले त झन भाषिक पक्ष शुद्धता र बोधगम्यताका हिसाबले थप जटिल बन्ने देखिन्छ । खासगरी नेपाली भाषालाई दोस्रो भाषाका रुपमा सिक्नेहरुका लागि शिक्षकले थप मिहिनेत गर्न जरुरी छ ।

भाषाको जवर्जस्त प्रयोग र जवर्जस्त बुुुुझाई सिकाइका लागि हानिकारक हुन् । शुरुबाटै शब्दशक्तिका हिसाबले भाषिक ज्ञानको रहर पनि पाच्य हुँदैन । उमेर, अवस्था, स्थान तथा समुदायपिच्छे भाषिक व्यवहार अलग,अलग हुने गर्दछ । समयका क्रममा विभिन्न कारणहरुले गर्दा भाषामा परिवर्तन पनि देखिन्छ । समय, स्थान र परिवेशअनुसार भाषिक व्यवहार गर्न सक्षम नागरिक तयार गर्नु आजको शिक्षाको एउटा लक्ष्य पनि हो ।

तीन ठाउँका तीन घटना

घटना नम्बरः एक
लगभग २०३७ सालतिरको प्रसङ्ग हो । म पर्वतको लेकफाँटस्थित गिद्देश्वार नि.मा.वि.मा पढाउनका लागि नियुक्त भएँ । उतिबेला जिल्ला शिक्षा कार्यालयले नियुक्ति दिन्थ्यो । विद्यालयले हाजिर गराएर काममा लगाउँथ्यो । अन्य पुर्वाधार तयारीका लागि विद्यालय सहयोग समिति थियो । अहिलेका झैं सञ्चालक समिति भन्ने त्यो बेला हुँदैन्थ्यो । उक्त ठाउँ मेरो लागि निकै टाढा परेकोले अपायक भयो । मैले जिल्ला शिक्षा कार्यालय पर्वत, कुश्मामा आई सरुवा पाउँ भनी जिल्ला शिक्षा अधिकारीसमक्ष निवेदन दिएँ । निवेदनका अन्य भाषा रेडिमेट नै थिए । एउटा कुरा नविन रहेछ ।

भाषाका पारखी जिल्ला शिक्षा अधिकारी प्रेमनिधि ज्ञवाली (सचिवबाट निवृत)ले निवेदन हेर्न साथ थाहा पाए । मलाई उनको टेबुलनेर बोलाए । ‘यो पढनुस’ भने । ‘खाए खा, नखाए घिच नभनीकन मलाई तुरुन्त सरुवा गरियोस्’ मैले यही पढें । मेरो निवेदनमा यही लेखिएको रहेछ । उनले भने ‘जे पायो, त्यही लेख्ने ? के हो नघाए घिच भनेको ? तपाईलाई कस्ले घिच भनेको छ ? आजै छाडिदिनुस् । मैले कर गर्या छ ? मनपरी निवेदन लेख्ने’ ? भनेर आफू बसेको घुमाउँने कुर्ची फनक्क घुमाए । मैले मेरो भाषाको आशय बताउन खोजें उनले सुनेनन् । मेरो सातो, पुत्लो गयो । सरुवा पाउने त कुरै भएन ।

मलाई मैले पढेको भाषा ठिक ठाउँमा प्रयोग गर्न नजानेकोमा दुःख पनि लाग्यो । त्यहाँबाट म हिँडे । म हिंडेपछि उनले स्टाफसँग ‘यो केटो टाँठो रैछ । जुद्देलाई पछि यसैले ठीक पार्ला जस्तो छ’ भने भनेर सँगै बसेका अन्य स्टाफले यसपछिको भेटमा मलाई सुनाउँथे । जुद्दजंग लामिछाने तिलाहार गाउँपञ्चायतका उतिबेलाका प्रधानपञ्च थिए । जिल्लाका सबै हाकिमहरु भूकको भद्रे र तिलाहारको जुद्देसँग हाम्रो केही लाग्दैन भनेर थर्कमान हुन्थे । त्यसपछि सचिव भएपछि पनि मैले ती ज्ञवालीलाई भेटेको छु । ‘सर खाए खा नखाए घिच भनेर लेखेकोमा सरले मेरो सातो लिनुएको थियो’ भन्दा उनले उक्त घटना आफुलाइ पनि स्मरण रहेको बताएका थिए ।

घटना नम्बरः दुुई
२०७५ चैतमा म शिक्षा विकास तथा समन्वय इकाइ बारामा इकाइ प्रमुख थिएँ । एसईई सञ्चालन गर्नुपर्ने भयो । जिल्लामा ३१ वटा परीक्षा केन्द्रहरु थिए । ३१ जना नै केन्दाध्यक्ष चयन गर्नुपर्ने भयो । जहिले पनि शिक्षा अधिकारीका लागि केन्द्राध्यक्ष चयन सबैभन्दा टाउको दुखाइको काम हुन्थ्यो । धेरै आकाङ्क्षी, थोरै सिट । त्यसमाथि पनि तराईको कुरा नै अर्को । सबका सबलाई केन्द्राध्यक्ष हुनुपर्ने । परीक्षा समन्वय समितिमा प्रस्ताव लगेपछि जुन विद्यालयमा केन्द्र छ त्यो विद्यालयको योग्यता पुगेको प्रधानाध्यापक छ भने ऊ पदेन केन्द्राध्यक्ष हुने अन्य अवस्थामा मात्र नयाँ विद्यालयबाट खटाउने नीति समितिले पारित गर्यो । लगभग २८ ठाउँमा समस्या आएन । ३ ठाउँमा नयाँ पठाउनुपर्ने भयो । बैठकबाट जिल्लामा भएका सबैभन्दा सिनियर मध्येबाट पठाउने नीति बनायौं ।

बैठक सकिएको केहीबेरपछि एकजना बाराकै संघीय सांसदले मलाई फोन गर्दै भने ‘मेरो तर्फबाट ३ जना मान्छे केन्द्राध्यक्षमा राख्नुहोला’ । मैले भनें ‘माननीयज्यू, टुंगो भैसक्यो । हामीलाई जम्मा ३ जना नयाँ मान्छे चाहिने भयो । बाँकी केन्द्र परेका विद्यालयका हेडसरहरु नै पर्नुभयो’ । मैले २८ जनाको नाम सुनाएँ । यसो गर्दा उनका २ जना हेडसर स्वतः परेछन् । अब यी ३ जनामा १ जना मेरो भागमा भनेर नाम दिए । मैले भनें ‘एक त हामीलाई ३१ जना भए पुग्छ । तपाईं माननीयहरु ११ जना हुनुहुन्छ । तपाईंलाई ३ जना दिएपछि अरुलाई पनि दिनुपर्छ । मैले अन्याय गर्न हुँदैन । एउटाको भागमा ३ जना हो भने मलाई ३३ केन्द्र चाहिन्छ । मसँग ३१ केन्द्र मात्र छन् । फेरि २ जना तपाईंका मान्छे परिसकेकै छन् त’ । उनले जिल्लाका आफ्ना हेडसरलाई प्रयोग गरी मलाई, फोन, प्रेसर र धम्काउन थाले । राजेश पौडेल प्रमुख जिल्ला अधिकारी थिए । मैले प्रमुख जिल्ला अधिकारीलाई सबै कुरा सुनाएँ ।

उनले ‘भैगो के झगडा गर्नु यिनीहरुसँग, उनको को मान्छे रहेछ राखिदनिुस्’ भने । मैले माननीयलाई पुनः फोन गररे भनें ‘माननीयज्यू, तपाईंको एकजना थप राखौला ठिकैछ । तर तपाईंले आफ्ना कुरा सिधै मलाईं भन्नुहोला । म तपाइसँग डिल गर्छू । तपाईंका छाउरासँग म बहस गर्न सक्दिनँ । मेरा शिक्षकले मलाई तपाईंको नाम लिएर झपार्न पाइदैन नि, तपाईं पो माननीय हो, म मान्छु तर तपाईंका छाउरालाइ म किन मान्नु’ ? उनले ‘ल ठीक छ फलानोलाई राख्नुहोला’ भनेर निर्देश गरे ।

एकछिनपछि पुनः उनै माननीयको फोन आयो । ‘ए जिशिअ साब,( कार्यालयको नाम शिक्षा विकास तथा समन्वय इकाइ र प्रमुखको पद इकाइ प्रमुख भएपनि जनजिब्रोमा शिक्षा कार्यालय र जिशिअ नै भन्ने चलन आजपर्यन्त छ ) तपाईं कति पढनुभा छ ’ ? भने । मैले यति भनें । ‘के विषय हो ’ उनले सोधे । मैले ‘नेपाली माननीयज्यू’ भनें । ‘तपाईंलाई भाषा भनेको केहो थाहै रहेनछ । यस्ताले के नेपाली पढेको ? अघि तपाइले मलाई छाउरा भन्नुभाथ्यो ? के हो छाउरा भनेको ? कस्को बच्चालाई छाउरा भनिन्छ थाहा छ ? तपाईंका छाउरा भन्नुभयो । उनीहरु छाउराभएपछि म के भएँ’ ? उनले मेरा कुनै पनि कुरा सुन्न चाहेनन् । मलाई एकोहोरो प्रश्न मात्र तेर्साए । ‘मसँग युनिभर्सिटी पढाउने प्रोफेसर पनि सँगै हुनुहुन्छ । तपाईं मात्र पढेको भन्ने’ ? मेरो होस, हवास उड्यो । प्रतिकार वा स्पष्टीकरण दिने मौका नै दिएनन् । मैले लक्षणामा भनें, उनले अभिधामा बुुझे ।

घटना नम्बरः तीन
२०७६ को बैसाखको पहिलो साता । भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले भिमाद वडा नम्बर २ विरुवास्थित सिद्ध आधारभूत विद्यालयमा गएर खानेपानीको अवस्था अवलोकन गरी आउन खटाए । खानेपानी शाखाका प्राविधिक, स्रोतव्यक्ति केशबराज वाग्लेसहित म गयौं । फर्कदा बाटोमा उनै मेयर थापाको घर रहेछ । म पहिलोपटक त्यता गएकोले मलाई थाहा थिएन ।

साथीहरुले यो हाम्रा मेयरसाबको घर हो भने। मैले गाडी रोकेर एकछिन घर हेरें ।हामी अफिस फर्केपछि प्रतिवेदन दिन मेयरको कार्यकक्षमा प्रवेश गर्यौं । विद्यालयको प्रतिवेदन सकिएपछि व्यक्तिगत गफतिर हामी सोझियौं । मेयर राजनीतिक प्राणी हुन् । तर कर्मचारीसँग गर्ने व्यवहार, भलाकुसारी, व्यक्तिगत सम्बन्धस्थापनामा उनी काबिल थिए ।

एउटा राजनीतिक प्राणीमा कसरी कुशाग्र मनोविदको शैली रुपायित भएछ म दङ्ग परें । ३३ वर्षको जागिरे अनुुुुुुुभवमा यसरी मिही पाराले अन्वेषण गर्ने निजामतीमा सचिवसमेत मैले एकदमै कम देखेको/भोगेको छु । उनले‘ मेरो घर पनि देख्नुभयो ? कस्तो लाग्यो ?’भने मैले ‘देखे हजुर । स्वर्ग नै रहेछ’ के मात्र भनेको थिएँ , कुरा समाइ हाले । ‘स्वर्ग ? के भन्नुुभयो सर ? स्वर्ग त मरेको मान्छे बस्ने ठाउँ हैन र ? म त जीउँदै छुत’ उनले भने ।

म पानी, पानी भएँ । ‘हैन मेयर साव,स्वर्गजस्तै भनेको, हजुरले जस्तै नसुन्नुभा’ भनें । ‘ए, उसो भए ठिक छ । स्वर्गजस्तै त हुनसक्छ’ भने । त्यसपछि म ठेगानमा आएँ । नभन्दै उनको घर स्वर्गकै टुक्राजस्तो मनोरम स्थानमा थियो । चारैतिर हरियाली, बीचमा पीच बाटो । बाटामुनी सुन्तलालगायतका रुखको मनोरम शितलता । ३ पत्रे घर । माथिल्लो पत्र हाइवेसँग जोडिएको । त्यसभन्दा तल सिंढी टेक्दै बीचको तलेत्रो र त्योभन्दा पनि तल अर्को तलेत्रो । साँच्चैको मनोरम थियो उनको घर र घर वरिपरिको दृश्य । मैले यसलाई उपमा अलङकार र लक्षणा शब्दशक्तिमा बोंले, उनले अभिधामा अथ्र्याए ।

सिकाइ
भाषाले पार्ने प्रभाव र यसको प्रयोगपक्षका बारेमा धेरै कुरा प्रायोगिक भाषा विज्ञानले सिकाउँछ । तर हामीले वैकल्पिक सिकाइका तरिकालाई उपयोगमा ल्याउँदा भने अभिधाजन्य भाषाबाटै सिकाइ गर्नुपर्ने हुन्छ । व्यञ्जना र लक्षणातर्फ जानका लागि भने प्रत्यक्ष विधि नै आवश्यक ठानिन्छ । कोरोना अवधिको सिकाइ यसै पनि निर्वाहमुखी हुने हुँदा समग्रताको प्राप्ति भाषमा पनि खोजिनुहुँदैन ।

प्रतिकृया दिनुहोस्