जोमसोम । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ छोसेरमा अवस्थित एकमात्र उच्च तहको दिव्यदिप माध्यमिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेका छन्। घुम्ती कक्षा सञ्चालनका लागि पोखरा झरेको उक्त विद्यालय गत कार्तिक महिनादेखि पूर्ण रुपमा बन्द थियो। हालै विद्यालयको कम्पाउण्ड वाल स्तरोन्नती गर्ने क्रममा विद्यालय तोडफोडको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

गत कार्तिक महिनामा घुम्ती कक्षाका लागि पोखरा झरेको उक्त विद्यालय बैशाख महिनामा साविककै स्थानमा सञ्चालन हुनुपर्ने भए पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै लामो समयदेखि पठनपाठन बन्द थियो। लकडाउनसँगै विद्यालय पूर्व निर्धारित समयमा खुल्न सकेको थिएन। उक्त विद्यालय मुस्ताङको उत्तरी कोरला नाकादेखि दक्षिण १० किलोमिटर यता पर्छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार उक्त विद्यालयको १ देखि १० कक्षासम्मका सबै ढोकाहरुको ताल्चा फोरिएको र प्रत्येक कक्षाका सिसा र काठ बनेका सबै झ्याल फोरिएको अवस्थामा रहेको छ। यस्तै विद्यालयको प्रधानाध्याक कार्यकक्ष र अफिस कक्षको पनि ताल्चा फोरिएको अवस्थामा रहेको छ।

विद्यालयको भौतिक सम्पती नष्ट भएको जानकारी पाएपछि तत्काल विद्यालय व्यवस्थापन समितिले ईलाका प्रहरी कार्यालय छोसेरलाई जानकारी गराएको थियो। प्रहरीका अनुसार विद्यालयभित्र के कस्तो सामान थिए भन्ने विवरण खुल्न बाँकी रहेको र घटनाको एकिन क्षति विवरण बिहीबार विद्यालय समिति, जनप्रतिनिधि र प्रहरीको अनुसन्धानबाट सार्वजनिक गरिने जनाइएको छ। प्रहरीका अनुसार विद्यालय तोडफोड कुन समूहले कुन प्रयोजनमा गरेको भन्ने जानकारी हुन नसकेको जनाएको छ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघरक दामोदरकुण्ड गाउँपालिका अन्तर्गत दिव्यदिप एक मात्र माध्यमिक तहको सरकारी विद्यालय हो। उक्त विद्यालय वर्षको ७ महिना मात्र खुल्ला रहन्छ भने २ महिना पोखरामा घुम्ती कक्षा सञ्चालन हुने गरेको छ। हिउँद याममा अत्यधिक हिमपात र चिसो बढ्ने भएकाले उपल्लो मुस्ताङका सुरक्षाकर्मी जाडो छल्न जिल्लामा मर्ज गरिने गरिएको छ। हिमपात, चिसो र लकडाउनले जिल्लाभित्र कुनै नयाँ अनुहार प्रवेश नगरेकाले विद्यालय तोडफोडको बिषय रहस्यमय बनेको स्थानीय बताउँछन्।

सुन्दरकुमार थकालीले अन्नपूर्णपोस्टमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्