काठमाडौं । कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका शिक्षकलाई निलम्बन नगरी उल्टै तलबभत्ता सुविधा प्रदान गरेका पूर्वप्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरूद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीको बटैराज प्राथमिक विद्यालयका तत्कालीन शिक्षक(प्रधानाध्यापक) रतन सिंह भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीविरूद्ध मुद्दा दायर गरेको हो ।

बटैराज प्राविका शिक्षक रतन सिंह भण्डारी कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएपश्चात पनि उनलाई निलम्बन नगरी बिद्यालयबाट पाउने तलब भत्ता सुबिधा प्रदान गरी भ्रष्टचार गरेको हुँदा छानबिन गरीपाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा ८३ हजार एकसय सरकारी रकम बुझेको देखिन आएको अख्तियारले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी, पूर्व जिशिअ, स्रोत व्यक्तिसमेतको मिलेमतोमा विद्यालयका शिक्षक भण्डारीलाई निलम्बन नगरी भत्ता सुविधा दिएर भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप लागेको छ।

शिक्षक रतन सिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएको अख्तियारले स्पष्ट पारेको छ । आरोपी दुबै जनाविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही रकम बराबर बिगो कायम गरी असुलउपर र सजाय गरी पाउन मागदाबी लिई सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्