काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । मुद्दाको पेशी भोलि बुधबार १० बजेका लागि तोकिएको छ ।

शिक्षक सेवा आयोगले खुलाएको शिक्षक  लाईसेन्सको विज्ञापनमा ३५ नम्बरको विज्ञापनले कक्षा ११ र १२ कक्षामा पढाउने शिक्षकहरुलाई नसमेटेको भन्दै अहिलेको विज्ञापनको खारेजी र नयाँ पाठ्यक्रम बनाइ सोहीअनुसार अर्को विज्ञापन गर्न माग राख्दै हिस्टुनले मुद्दा दर्ता गराएको हो ।

हिस्टुनका  अध्यक्ष पुष्प न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेस हमाल, झुप केसीसहित ६ जना शिक्षकहरु सोमबार १० बजे नै सर्वोच्च अदालत पुगेका थिए । उनीहरुले दायर गरेको मुद्दामा अहिले गरिएको विज्ञापन खारेज गरी विषयगत रुपमा लाईसेन्सको परीक्षा गर्नु पर्ने माग गरिएको छ ।

आफूहरुले माध्यमिक तहको विज्ञापन नम्बर  ३५ तत्काल खारेज गरी कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुका लागि विषयगत लाईसेन्सको परीक्षाको व्यवस्था गर्न माग गर्दै दायर मुद्दामा परीक्षाका लागि भरेको फारमको अर्धकट्टी, भौचर, शैक्षिक प्रमाणपत्रर अस्थायी लाईसेन्सको फोटोकपीसमेत पेश गरेको न्यौपानेले जानकारी दिए ।

आफुले इकोनोमिक्स पढाउने भएपनि आयोगले सामाजिक समूहमा परीक्षाको फारम भर्न बाध्य बनाएको न्यौपानेले गुनासो गरे । कहिल्यै नपढेको र नपढाएको विषयमा कसरी परीक्षा दिन सक्छौं । यो हाम्रो मौलिक अधिकारको समेत हनन् हो । न्यौपानेले भने । ’हामीले परीक्षा दिन्नौं भनेका छैनौं, हामीले त फारम पनि भरिसक्यौं, तर हामीलाई आफ्नै विषयको परीक्षा दिने व्यवस्था होस् भन्ने हाम्रो माग हो ।’

शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाए पछि कक्षा १० र ११–१२ मा पढाइ हुने विषयमा अन्तर आएपछि यस्तो समस्या आएको न्यौपानेले स्पष्ट पारे ।

११ र १२ मा १६० बढी विषय पढाइ हुने भएपछि आयोगले कक्षा १० को विषयसँग समायोजन गरेर एउटै विषयमा धेरै समेटेको थियो । जसले गर्दा कक्षा ११ र १२ मा पढाउने विषयगत शिक्षकहरु मारमा परेका हुन् ।

आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको थियो । जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञानका विषय उल्लेख गरी विज्ञापन गरिएको थियो । उक्त विज्ञापनले आफूहरुले पढाउँदै आएको विषयलाई समेट्न नसकेको हिस्टुनका अध्यक्ष न्यौपानेले जिकिर गरे ।

लामो समय रोकिएको लाईसेन्सको परीक्षा सञ्चालन गर्ने गरी आयोगले गत असार २ गते विज्ञापन खालेको थियो । पछि पुन आयोगले असार १६ गते विज्ञापनको म्याद थप गरेको थियो । त्यस अघि असार २२ गते सम्म फारम भर्ने म्याद तोकिएकामा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाइएको थियो ।

असार २ गते खुलाइएको आयोगको विज्ञापनको परीक्षा भने साउन २३ गते मात्रै तोकिएको थियो । विज्ञापन खुलेको डेढ महिना पछि बल्ल आयोगले असोज ९, १० र ११ गतेलाई परीक्षाको मिति तय गरेको थियो ।

२०७६ साउन २८ गते ११:००मा प्रकाशित

प्रतिकृया दिनुहोस्