काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन अगाडि बढेको र छिट्टै संसदमा दर्ता हुने बताएका छन् । उनले शैक्षिक सुधारका लागि गर्नु पर्ने कामको पहिचान गरी काम अघि बढाएको बताए ।

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले गरेको कार्यक्रममा मन्त्री पौडेलले भौतिक पूर्वाधारमा सुधार, कानुनी सुधार र शिक्षण सिकाइसम्बन्धी सुधारका काम भइरहेको बताए ।

सबैलाई साक्षर नेपाल अभियानमा सरिक हुन आह्वान गर्दै उनले भने १२ कक्षा पछि विश्वविद्यालयले तुरुन्तै उच्च शिक्षामा प्रवेश गराउने प्रक्रियाको थालनी गर्नुपर्छ ।‘डाक्टर, इन्जिनियर, शिक्षक सबै उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालय नै हो उसले पनि शैक्षिक क्यालेण्डर अनुसार चल्नुपर्छ ।’ उनले भने, ‘शिक्षण संस्था जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने, तोडफोड गर्ने कुरा सदाको लागि बन्द गर्नुपर्छ ।’

शिक्षकलाई गाली होइन सम्मान गरेर शिक्षामा सुधार ल्याउन सकिन्छ । ‘जुन ठाउँमा साक्षरता हुन बाँकी छ त्यो ठाउँमा व्यक्ति व्यक्ति परिचालन गरेर साक्षर घोषणा गर्दै जानुपर्छ ।’ उनले भने, ‘निरक्षरता उन्मूलन गर्न नेपाल सरकारको अठोट पूरा गर्ने अभियानमा सबै प्रदेश तथा स्थानीय तहका साथै सबै सम्बद्ध पक्षको सहयोगका निम्ति हार्दिक अनुरोध गर्दछु ।’

शैक्षिक गुणस्तरका लागि कानुनी सुधार आवश्यक देखिएकोले सात वटा ऐन तयार भइरहेको समेत मन्त्री पौडेलले बताए । उनले भने, ‘मेडिकल शिक्षा सुधारका लागि कानुनी सुधार आवश्यकता छ । अर्बौं लगानी गरेर गेटा बनाए पनि कुन मोडलमा चलाउने भन्ने स्पष्ट नहुँदा अलपत्र अवस्थामा छ ।’ मन्त्रालयले प्रतिष्ठान सम्बन्धी ऐनको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

कार्यक्रममा केन्द्रको प्रवक्ता दिल्लीराम लुईंटेलले मधेश प्रदेशका सबै जिल्ला र साविकको कर्णाली अञ्चलका सबै जिल्ला गरी १५ जिल्ला मात्रै साक्षर घोषणा हुन बाँकी रहेको र आगामी वर्षभित्र सकिने अपेक्षा लिएको बताए । उनले भने ‘अब बाँकी १५ जिल्लालाई आगामी वर्ष साक्षर घोषणा गर्न सकियो भने साक्षर नेपाल बन्नेछ । आगामी वर्ष हामी साक्षर घोषणा गर्न सक्छौं भन्ने अपेक्षा छ ।’

अबको दुई वर्ष भित्रमा अभियान सञ्चालन गरेर सबै जिल्लालाई साक्षर घोषणा गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले बताए ।युनेस्को काठमाडौं सिनियर कन्सल्टेन्ट डा. ध्रुव गौतमले कोभिड पछाडि सिकाइको परिभाषा परिवर्तन भएको बताए ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा साक्षरता सम्बन्धि सचेतनामूलक दोहोरी गित, शैक्षिक स्मारिका, २०७९ लगायत शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले  तयार गरेका चारओटा प्रतिवेदन सार्वजनिक गरिएको छ । आजै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मेरो सिकाइ एप सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस्