काठमाडौँ । निजी विद्यालयहरुले अब आफू खुसी शुल्क बढाउन नपाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफू खुसी शुल्क नबढाउन निजी विद्यालयहरुलाई निर्देशन दिएको हो ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा मन्त्रालयले स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था बारे निजी विद्यालयहरुलाई स्मरण समेत गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकलाई जानकारी गराउनुपर्छ । अभिभावकले तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् ।’ त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था रहेको भन्दै मन्त्रालयले केही गुनासो भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्