काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले विद्यालय खुल्ने, परीक्षा र भर्नाबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रम छरेको भन्दै आपत्ति जनाएका छन् ।

पटकपटक समितिसँग सल्लाह गर्न भन्दा पनि मन्त्री पोखरेल सम्पर्कमा नआएको र केही व्यक्तिहरूले भनेकै आधारमा मन्त्रीले लकडाउन खुलेको अर्को दिनदेखि भर्ना हुने र तीन हप्तामा परीक्षा हुने बताएको सांसदहरूले आरोप लगाएका हुन् ।

संसदीय समितिको बुधवारको बैठकमा सांसद गगन थापाले भर्नाबारे शिक्षा मन्त्रीले अभिव्यक्ति दिएर भ्रम छरेको आरोप लगाएका हुन् । मन्त्रीले शिक्षा क्षेत्रका धेरै व्यक्ति र शिक्षा समितिका सांसदहरूसँग सल्लाह गरेर निर्णय गर्दा राम्रो हुने भन्दै उनले आफुखुसी मनलाग्दी बोल्दा सर्वसाधरणमा भ्रम सिर्जना भएको बताएका हुन् ।

यस्तै, समितिकी सभापति जयपुरी घर्तीले विद्यालय भर्ना र परीक्षाबारे मन्त्रालयले भ्रम सिर्जना गर्याे कि भन्ने लागेको बताइन् । सांसदहरूले मन्त्रालयले अधिकार स्थानीय तहलाई नदिएको र मन्त्रालयमा केन्द्रीत गरेकोमा पनि आलोचना गरेका थिए ।

शिक्षा मन्त्री पोखरेलले एकदिन अगाडि बैशाख २६ गतेदेखि विद्यालयमा भर्ना शुरु हुने र तीनहप्तापछि परीक्षा हुने बताएका थिए । तर, अर्कोदिन शिक्षा मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै अर्को सूचना नआएसम्म भर्ना नलिन निर्देशन र परीक्षाका बारेमा कुनै निर्णय नभएको सूचना जारी गरेको थियो ।

शिक्षामन्त्रीको भनाइ पछि केही विद्यालयहरुले भर्ना गर्ने तयारी गरेका थिए भने केही स्थानीय तहहरुले भर्नाका लागि सूचना नै जारी गरेका थिए ।

२०७७ बैशाख २४ गते १८:४१मा प्रकाशित

प्रतिकृया दिनुहोस्