काठमाडौं। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा अनलाइनबाटै लिने भएको छ। दुवै तहका सेमेष्टरको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको हो।

विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने निर्णय गरेको हो। कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन भएको र सोहीअनुरुप अनलाइनबाट परीक्षा लिन थालिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए।

‘हामीले मध्यपश्चिम विश्वविद्यालय डिजिटल, भर्चुअल तथा वैकल्पिक शिक्षण सञ्चालन नीति दिशानिर्देश २०२० तयार गरेका छौं,’ उनले भने, ‘कोभिडको सङ्कटमा यस प्रणालीले परीक्षार्थीलाई परीक्षा दिन सहज हुनेछ।’

सबै परीक्षार्थीलाई ढुक्कका साथ परीक्षा दिन अपिल गर्दै उहाँले परीक्षार्थीहरुले भने तोकिएको समयमा उत्तर उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। परीक्षा भने शुक्रबार बिहान ८ः०० बजे सुरु हुनेछ। प्रा.डा.उपकुलपति सिंहले अनलाइन प्रणालीबाट परीक्षा गर्नेबारे गत साउन १९ गतेको निर्णय भएको थियो।

मध्यपश्मिाञ्चल विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङकाय केन्दीय क्याम्पसका प्रमुख तेजबिक्रम बस्नेतले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखेर अनलाइन परीक्षा सञ्चालन गरिएको उनको भनाइ छ।

कोभिड–१९ को सङ्कटमा विद्यार्थीलाई सहजता प्रदान गर्न यो सुविधा दिइएको भन्दै उनले कम्प्युटर नजान्नेका लागि अफलाइन परीक्षाको समेत व्यवस्था गरिएको बताए। उनीहरुले भने हातैले लेखेर फोटो खिचेर वा स्क्यान गरेर पठाउनुपर्ने क्याम्पस प्रमुख बस्नेतको भनाइ छ।

लोकवार्ता विज्ञान विभागका प्रमुख खगेन्द्र अधिकारीले अनलाइन परीक्षाले कर्णालीका भौगालिक रुपले विकट जिल्लाका विद्यार्थीहरुलाई बढी न्याय भएको बताए। यस परीक्षाले कोभिड-१९ ले धकेलिएको सेमेटष्टरको उपयोग भएको र शिक्षामा वैकल्पिक प्रणालीको प्रयोग भएको जनाइएको छ।

राससको खबर अन्नपूर्णपोष्टबाट

प्रतिकृया दिनुहोस्