बागलुङ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा मन्त्री पौडेलले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलान लगायतमा अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाइने बताए । ‘शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, ४० औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ’, उनले भने, ‘अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ ।’

मन्त्री पाैडेलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन गरिने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको बताए । कार्यभार सम्हाले पछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको जानकारी समेत उनले जानकारी दिए ।

‘एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ’, मन्त्री पौडेलले भने । विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उनले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राखे ।

मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुनर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताए ।

प्रतिकृया दिनुहोस्