पोखरा । निजी विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारीको हकहितमा विगत लामो समयदेखि काम गर्दै आएको निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन (प्याब्सियु) नेपालअन्तर्गत पोखरा महानगर समितिको भेला बुधबार सिर्जना मा.वि. सिमलचौरमा सम्पन भएको छ ।

भेलामा पोखरा महानगरपालिका तथा कास्कीमा रहेको निजी विद्यालयमा अध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो। विशेष रूपमा कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण मुलुक लकडाउनमा रहँदा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले चैत बैशाखदेखि तलब सुविधा नपाएकाले शिक्षकलाई पनि बाँच्न देऊ भन्दै प्याब्सियु आन्दोलनमा उत्रिएको थियो । यसै क्रममा केही नयाँ सदस्यहरूलाई सदस्यता वितरण गर्ने सिलसिलामा अहिलेसम्म प्याब्सियु नेपाल र पोखरा महानगर समितिले शिक्षक कर्मचारीको हकहितमा गरेका कामहरूको जानकारी पनि दिइएको थियो।

यसै क्रममा प्याब्सियु नेपालका उपाध्यक्ष शिवलाल उपाध्यायले संस्थाले निकै लामो समयदेखि शिक्षक कर्मचारीको पक्षमा काम गर्दै आएको र हाल लकडाउनलाई कारण देखाई निजी विद्यालयका छाता सङ्गठन प्याब्सन र एनप्याब्सनले शिक्षकहरूलाई तलब सुविधा दिन नसक्ने कुरा गरिरहँदा प्याब्सियुले समयसमयमा खबरदारी गर्दै सम्बन्धित सरोकारवाला निकायहरूमा ज्ञापनपत्र बुझाउँदै वार्तामा बसिरहेको जानकारी गराउनुभएको छ। यसका साथै प्याब्सियु पोखरा महानगरको आयोजनामा शान्ति र्याली, प्याब्सन एनप्याब्सनमा तालाबन्दी गर्दै आफ्ना मागहरू पूरा गरिदिन शिक्षा महाशाखा लगायत महानगर प्रमुखसँग भएको वार्ता उपलब्धि पनि प्रस्तुत गरेका थिए ।

प्याब्सियुको स्थापना र यसले गर्दै आएका कामको बारेमा जानकारी गराउँदै पोखरा महानगर समितिका अध्यक्ष विजयराज अधिकारीले बिहीबार प्याब्सन र एनप्याब्सन कास्कीले आफूहरूलाई कार्यलयमा लगाइएको तालाबन्दी खुलाउन साथै शिक्षक कर्मचारीको तलब सुविधासम्बन्धमा वार्तामा बोलाएको विषयमाथि पनि प्रस्ट पारेका थिए ।

त्यस्तै प्याब्सियुले हरेक विद्यालयलाई योगदानमा आधारित सामाजिक सुरक्षामा जान लगाउने, शिक्षक कर्मचारीलाई नियुत्तिपत्र अनिवार्य दिनुपर्ने, विद्यालय सम्बन्धन लिने बेलाको सर्त पूरा गर्ने र हालसम्मको तलब तथा पारिश्रमिक पाउनुपर्ने कुरा आफ्ना मागका रूपमा विशेष उठाउँदै आएको छ ।

प्याब्सियु पोखरा महानगर समितिका सचिव निराज केसीले सञ्चालन गर्नुभएको उक्त भेला कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन निजी तथा संस्थागत विद्यालय इन्चार्ज दिपक रोकाले पनि बोलेका थिए ।

प्रतिकृया दिनुहोस्