भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालय बहुविषयमा गएको छ । बौद्ध शिक्षा, धर्म र संस्कृति मात्रै पठनपाठन गराउने गरी स्थापना भएको विश्वविद्यालय बहुविषयमा गएको हो । विश्वविद्यालय ऐन २०६३ संशोधन भएपछि बौद्ध दर्शनसँग जोडिएर अन्य विषय समेत बौद्ध विश्वविद्यालयले पठनपाठन गर्न पाउने छ ।

ऐन संशोधनपछि बहुविषय अध्यापन गराउन पाउने गरी पूर्ण सरकारी स्वामित्वमा आएको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले बताउनुभयो । यसअघि ऐनको प्रस्तावनामा जनस्तरबाट सञ्चालन गर्ने भन्ने उल्लेख थियो । सो प्रस्तावनालाई संशोधन गर्दै जनस्तर भन्ने शब्द झिकिएको हो । नेपालमा रहेका त्रिभुवन विश्वविद्यालय, संस्कृति, कृषि, सुदुर पश्चिम, मध्यपश्चिम विश्वविद्यालयपछि लुम्बिनी बौद्ध विश्वविद्यालय सरकारी स्वामित्वमा आएको हो ।

जनस्तरबाट सञ्चालन गर्ने ऐन हुँदा विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम बिस्तारमा जटिलता थपिएको थियो । ऐन संशोधनपछि विश्वविद्यालय बिस्तारमा सहज हुने भएको छ । अव विश्वविद्यालयले अनुदान नभई अर्थमन्त्रालयबाट माग अनुरुपको बजेट पाउने छ ।

विश्वविद्यालय ऐनको प्रस्तावनामा यसअघि बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृति मात्रै पठनपाठन गर्ने उल्लेख थियो । संशोधनपछि ऐनको प्रस्तावनामा बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृति सहित अन्य विषय उल्लेख गरिएको छ । ऐनले बहुविषय अनुमति दिएपछि बौद्ध दर्शन नै मुख्य प्राथमिकता रहने रजिष्ट्रार आचार्यले बताउनुभयो । “अन्य विषय सञ्चालन भएपनि बौद्ध दर्शनमै आधारित भएर हुनेछन्”–उहाँले भन्नुभयो–“बौद्ध विश्वविद्यालय बौद्ध दर्शन, साहित्य र संस्कृतिबाट विचलित हुने छैन ।”

विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनीमा बौद्ध दर्शन, साहित्यका विभिन्न संकायहरु अध्यापन हुँदै आएको छ । रुपन्देहीमा ट्राभल एण्ड टुरिजम र कानुन विषय पठनपाठन गराइरहेको विश्वविद्यालयले काठमाडौंका सात क्याम्पसलाई इन्जिनियरिङसहितका विषय पढाउन सम्बन्धन दिएको छ । विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडिएर प्राविधिक र बहुउपयोगी विषयको पठनपाठन गर्ने योजना बनाएको छ ।

ऐन संशोधनपछि विश्वविद्यालयको सभामा प्रदेश सरकारका प्रतिनिधिको समेत सहभागिता हुनेछ । विश्वविद्यालय रहेको प्रदेश ५ का प्रमुख सचिवसहित हरेक प्रदेशबाट एकएक जना व्यक्ति सभामा सदस्य रहने भएका छन् । ऐन संशोधनपछि छात्रवृत्ति दिने बाटो समेत खुलेको छ । अन्य विश्वविद्यालय जस्तै बौद्ध विश्वविद्यालयका विद्यार्थीले समेत अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने रजिष्ट्रार आचार्यले जानकारी दिनुभयो ।

लक्ष्मण पौडेलले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्