बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आइतबारदेखि ‘डोर टु डोर’ परीक्षा सुरु गरेको छ । एउटा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइएको हो । विद्यार्थीले मागेकै स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

धेरै विद्यार्थी भएका विषयमा केन्द्रमार्फत र कम विद्यार्थी भएकालाई अनलाइनमार्फत परीक्षा लिइएको विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले जानकारी दिए । कोरोना संक्रमण कहिलेसम्म रहन्छ भन्ने अनिश्चित भएकाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिएको उनले बताए । यसअघि कोरोनाकै कारण दुई पटकसम्म उक्त परीक्षा स्थगित गरिएको थियो ।

विश्वविद्यालयमा आइतबारदेखि स्नातक तहको बीबीटीटीएम, बीएएलएलबी, भोट भाषा र स्नातकोत्तर तहका सबै विषयको परीक्षा सुरु भएको हो । परीक्षाका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौं र हुम्लामा परीक्षा केन्द्र तोकिएका छन् । बीएएलएलबीका एक विद्यार्थी हुम्लामा रहेकाले उनलाई हुम्ला क्याम्पसबाट परीक्षा दिने व्यवस्था मिलाइएको विश्वविद्यालयले जनाएको छ । बुटवलमा मात्रै ८ स्थानमा परीक्षा केन्द्र छन् । स्नाकोत्तर तहको आर्कियोलोजीको परीक्षा भने अनलाइनमार्फत लिइएको छ ।

परीक्षा केन्द्रमा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड अपनाइएको रजिस्ट्रार आचार्यले बताए । उनका अनुसार परीक्षार्थी दुई–दुई मिटर दूरीमा बस्ने, परीक्षा सकिएपछि कोठा ‘डिसइन्फेक्सन’ गर्ने व्यवस्था गरिएको छ । परीक्षार्थीलाई विश्वविद्यालयबाटै हरेक दिन मास्क, पन्जा र स्यानिटाइजर उपलब्ध गराइन्छ ।

अमृता अनमोलले कान्तिपुरमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्