मुगु । सोरु गाउँपालिका–३ भिई गाउँका एक शिक्षकलाई कुटपिट गर्ने व्यक्तिहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । कालिका आधारभूत विद्यालयका शिक्षक विष्णुराज धामीलाई स्थानीय मनोज धामी, मिलन धामी, जीवन धामी, जगदीश धामी, अंगत धामी र इन्द्र सेजुवालले कुटपिट गरेका हुन् । घटनापछि उनीहरू फरार छन् ।

उनीहरूविरुद्ध मुद्दा दर्ता गरी खोजी जारी राखिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । साउन २० गते राति शिक्षक धामीलाई उनीहरूले घरबाट टाढा पुर्‍याई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

धामीको टाउको, पिठ्यु र छातीमा चोट लागेको छ । जिल्लामा उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सुधारोन्मुख रहेको दाजु डिलबहादुर धामीले बताए ।

राजबहादुर शाहीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्