काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक तथा सामुदायिक पुस्तकालयको विकास र विस्तारमा तीनवटै तहका सरकार जुट्नुपर्ने बताएका छन् । तेह्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमको भर्चुअल समापन समारोहमा बोल्दै मन्त्री पोखरेलले पुस्तकालय दिवसका माध्यमबाट नेपालमा पुस्तकालयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको विचार व्यक्त गरे ।

नेपाल राष्ट्रिय पुस्तकालयको स्थगन भएको भवन निर्माण सम्बन्धी काम छिटै हुने आशा व्यक्त गर्दै मन्त्री पोखरेलले राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरूयोजना तथा पुस्तकालय स्वचालीकरण योजना चाँडै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

तेह्रौं पुस्तकालय दिवस मनाउनका लागि शिक्षा मन्त्रालयका सचिव डा. संजय शर्माको अध्यक्षतामा पुस्तकालयसँग सम्बद्ध सवै सरोकारवालाहरूको सहभागितामा मूल समारोह समिति र मूल समारोह समितिलाई सहयोग गर्न विभिन्न उपसमितिहरू गठन गरिएका थिए ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री गणेश शाहले पुस्तकालय ज्ञानको मुहान भएको बताए । उनले पुस्तकालय अभियानलाई राष्ट्रिय पुस्तकालयका लागि राष्ट्रिय अभियान सञ्चालन गरौं भन्दै प्रदेशस्तरका सरकारलाई प्रदेश पुस्तकालय र स्थानीय तहलाई स्थानीय पुस्तकालयको विकास गर्न आग्रह गरे ।

डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका अध्यक्ष इन्दिरा दलीले समग्र पुस्तकालय र पुस्तकालयकर्मीका तर्फबाट कोभिड–१९ को चुनौतिका बिच आयोजना भएको दिवसमा प्रविधिका कारणले संसारभरबाट जोडिन सकेकोमा यो अभूतपूर्व अवसर भएको बताइन् । सार्वजनिक पुस्तकालयको विकास र विस्तारमा सरकारको भूमिका बढ्नु पर्ने भन्दै अध्यक्ष दलीले सरकारले यसका लागि आवश्यक कानूनहरू निर्माण गरिदिनु पर्ने धारणा व्यक्त गरिन् ।

गैरसरकारी संस्थाहरूले पनि नेपालको पुस्तकालय दिवसका अवसरमा दिएको योगदानको स्मरण गर्दै अध्यक्ष दलीले नेपाल राष्ट्रिय पुस्तकायको भवन निर्माण स्थगन गर्ने काम सरकारबाटै भएकोमा निर्णय सच्याउन आग्रह गरिन् ।

सो अवसरमा पुस्तकालय अभियन्ता तथा नेपाल पुस्तकालय संघका संस्थापक अध्यक्ष मुरारिविनोद पोखरेल, पुस्तकालयकर्मी चन्द्रकिरण श्रेष्ठ तथा नेपालको प्रदेश नंवर एकको झापा जिल्लाको धुलाबारीमा रहेको त्रिफला राष्ट्रिय पुस्तकालयलाई वर्षको उत्कृष्ट पुस्तकालयका रूपमा कदर गरिएको थियो । यस्तै, नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नं. १० की कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कडेललाई प्रशंसापत्रबाट सम्मानित गरिएको थियो ।

नेपालमा वि.सं. १८६९ साल भाद्र १५ गते पुस्तक चिताइ तहविल नामक पुस्तकालयको स्थापना र सञ्चालन गर्न राजा गीर्वाणयुद्ध वीरवीक्रम शाहदेवले लालमोहर जारी गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै २०६५ साल भाद्र १५ गते देखि पुस्तकालय दिवस मनाउन थालिएको हो ।

सो अवसरमा दि एशिया फाउण्डेसनबाट विभिन्न पुस्तकालयहरूलाई पनि पुस्तक हस्तान्तरण गर्ने घोषणा गरिएको थियो । सो अवसरमा तेह्रौं पुस्तकालय दिवसका अवसरमा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्