सुर्खेत । श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले विद्यालयबाट अनिवार्य अवकाश पाएका विद्यालय कर्मचारीलाई उपदान सहित बिदा गरेको छ । विद्यालयमा १८ वर्ष कार्यालय सहयोगीका रुपमा काम गरेका चन्द्रबहादुर गौतमलाई विद्यालयले २७ महिनाको तलवस्वरुप ३ लाख ४४ हजार ६६५ उपदान रकमसहित बिदा गरेको हो ।

सरकारले विद्यालय कर्मचारीहरुलाई हालसम्म उपादानको व्यवस्था नगर्दा उनीहरु वषौंसम्म सेवागरेपनि खालीहात बिदाहुनुपर्ने अवस्था छ । तर, श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम सुर्खेतले भने सरकारभन्दा एक कदम अगाडि बढेर उपादान सहित बिदा गरेको हो । सरकारले समेत विद्यालयमा कार्यरत कर्मचारी पियन, खरदार, शिक्षकलाई उचित रुपमा पारिश्रमिक र अवकाशमा जादा सेवा सुविधा दिन नसकिरहेका अवस्थामा अक्षयकोषमार्फत विद्यालयले आफ्नै स्रोतमा उपदान लगायतका सुविद्या दिने आँट गरेको हो ।

विद्यालयले नेपालमै पहिलोपटक कार्यरत विद्यालय कर्मचारी एवं निजी स्रोतका शिक्षकलाई उपादान दिन भन्दै २०७२ फागुनमा अक्षयकोष स्थापना गरेको थियो । विद्यालयको दीर्घकालीन विकास र शैक्षिक गुणस्तर सुधारका लागि भन्दै सो विद्यालयका शिक्षक र विव्यसका पदाधिकारीहरूले साहस गर्दै त्यतिबेला विद्यार्थीहरूले तिर्ने शुल्कबाट केही रकम बचत गरेर अक्षयकोष स्थापना गरिएको थियो । विद्यालयमा हुने विभिन्न खर्चहरूको कटौती गरेर बचत भएको रकमबाट ५१ लाखको अक्षयकोषको स्थापना गरिएको थियो ।

चन्द्रबहादुर गौतम

छोटो समयमै विद्यालयलाई सामान्यबाट मुलुककै उत्कृष्ट मध्येको एक विद्यालय बनाउन सफल तत्कालीन प्राचार्य गेहेन्द्र दाहालको अगुवाइमा अक्षयकोष स्थापना गरिएको थियो । त्यतिबेला विद्यालयमा अध्यनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले तिरेको शुल्कवापतको रकमबाट खर्च कटाएर बचत भएको रकमबाट अक्षयकोष स्थापना गरिएको तत्कालीन प्राचार्य दाहालले बताए ।

त्यतिबेला सो रकमबाट प्राप्त भएको ब्याजले विद्यालयमा कार्यरत अस्थायी तथा निजी स्रोतका शिक्षक र कर्मचारीलाई अनिवार्य तथा स्वैच्छिक अवकाश पाएमा उपदान स्वरूप आर्थिक सहयोग प्रदान गर्ने योजना बनाइएको उनले स्पष्ट पारे । अहिले अक्षयकोष बाट उपादान पाएर विद्यालय कर्मचारी बिदा भएको थाहा पाउँदा आफूलाई त्यतिबेला ठीकै काम गरिएछ भन्ने लागेको दाहालले बताए ।

अवकाश हुँदा उपादान पाएपछि हर्षित बनेका कार्यालय सहयोगी गौतमले भने लामो समय गरेको सेवालाई विद्यालयले मूल्याङ्कन गरेकोमा खुसी लागेको बताए । सर्वोच्च अदालतले विद्यालय कर्मचारीलाई स्थायी पक्रियामा लग्न आदेश जारी गरेको र शिक्षा ऐनको आठौं संशोधनमा पनि व्यवस्था भएपनि सरकारले कार्यान्वयन नगरेको प्रति दुखेसो गर्दै गौतमले विद्यालयले भने माया गरेको बताए ।

प्रतिकृया दिनुहोस्