कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

शिक्षकले नमाने निजामती कर्मचारी परिचालन गरिने

Avatar photo

Byएजुकेशन पाटी

९ बैशाख २०८२, मंगलवार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।

शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

बोर्ड अध्यक्ष शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।  ‘परीक्षा संवेदनशील विषय हो । साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएको छ । त्यसैले हामी शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दछौँ ।’ उनले भने ।शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भने । वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुने परीक्षा २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ।

प्रतिकृया दिनुहोस्