काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैंले कमाएर अध्ययन गर्न पाउने गरी कार्यविधि तयार पारेको छ ।

स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ तयार पारेको हो ।

कार्यविधिले स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।

कृषि (बाली विज्ञान–पशु विज्ञान–वागबानी), इन्जिनियरिङ (सिभिल–इलेक्ट्रिकल–कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यवसायिक कीट (मौरी पालन च्याउ र रेसम खेती) लगायतका क्षेत्रमा यो कार्यक्रम सञ्चालन गर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यक्रम सञ्चालनका लागि छनोट भएका विद्यालयलाई सम्बन्धित स्थानीय तह मार्फत पेश गरेको प्रस्ताव र आवश्यकताका आधारमा सशर्त अनुदानको रुपमा रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सीपयुक्त एवम् स्वाबलम्बी नागरिक उत्पादन गर्ने उद्देश्य कार्यविधिले राखेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्