जुम्ला । नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो वर्षदेखि डिप्लोमा इन फार्मेसी पढाइ हुने भएको छ। चिकित्सा शिक्षा आयोगले डिप्लोमा इन फार्मेसी पठनपाठनका लागि अनुमति प्रदान गरेसंगै यहाँ पढाइ हुने भएको हो।

डिप्लोमा इन फार्मेसी अध्ययनका लागि कर्णालीका विद्यार्थी महंगो तिरेर पढ्न बाध्य थिए। अब कर्णालीमै पहिलो पटक पढाइ हुन थालेपछि निकै उत्साहित छन्। कर्णाली प्राविधिक शिक्षालयका प्रमुख आशाकुमारी श्रेष्ठ डिप्लोमा इन फार्मेसी पढ्न तराइका जिल्लामा जानु पर्ने बाध्यता हटेको बताउँछिन्। उनले भनिन्,‘अब सस्तो, सुलभ र गुणस्तरीय रुपमा जुम्लामै डिप्लोमा इन फार्मेसीको पठनपाठन हुनेछ। यो समग्र कर्णालीको लागि निकै सुखद खबर हो।’

यो तीन वर्षे कोर्ष हुनेछ। कर्णाली प्राविधिक शिक्षालय २०३७ सालमा स्थापना भएको थियो। टेस्ट पास एसईईदेखि डिप्लोमा तहसम्मको शैक्षिक कार्यक्रम चलिरहेको छ। शिक्षालय प्रमुख श्रेष्ठ भन्छिन्,‘तीन वर्षमा ९५ हजार ६ सय ६० रुपैयाँसम्म खर्च हुने देखिन्छ। यो कर्णालीका विद्यार्थीका लागि निकै सस्तो शिक्षा हुनेछ।’

डिप्लोमा इन फार्मेसीका लागि ४० वटा कोटा निर्धारण गरिएको छ। जसमध्ये जुम्लाको लागि ४ जना, कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट २/२ जना हुने छन्। ४ जनाले छात्रवृत्तिमा शिक्षा आर्जन गर्न पाउनेछन्। १४ सिट समानुपातिक ढंगबाट भर्ना गरिने छ।

कर्णाली प्राविधिक शिक्षालयमा पहिलो पटक डिप्लोमा इन फार्मेसी पढाई सञ्चालन हुन थालेपछि कर्णालीबासी खुसी छन्। यो शिक्षालयबाट दुर्गम क्षेत्रका पिछडिएका वर्गलाई निकै लाभ प्राप्त भइरहेको छ। यहाँ अध्ययन गरेका ९५ प्रतिशत विद्यार्थी सरकारी जागिरे छन्। केहीले आफ्नो पेशा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन्।

डिप्लोमा इन फार्मेसी विषयको पढाई हुने भएकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क गर्न शिक्षालयले आग्रह गरेको छ। प्राविधिक शिक्षालयले टेस्ट पास एसईई अन्तर्गत कृषि, निर्माण, अनमी र सिएमए तथा डिल्पोमा तह अन्तर्गत ओभरसियर, आईएस्सीएजी र फरेस्ट्री कार्यक्रम संचालनमा छ।

लाखौँ रकम खर्चेर महंगा कलेजमा गएर प्राविधिक विषय अध्ययन गर्नबाट विद्यार्थीलाई राहत मिल्यो, शिक्षालय प्रमुख श्रेष्ठले भनिन्,‘यो प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्योग जस्तै बनेको छ। यहाँको जनशक्ति देशभर छरिएर सेवा गरिरहेको छ। यो कर्णालीका लागि सकरात्मक पक्ष हो।’

कर्णाली प्राविधिक शिक्षालय शैक्षिक हब मात्र बनिरहेको छैन। सदरमुकाम खलंगा पुग्ने जो सुकैले एक पटक प्राविधिक शिक्षालयको अवलोकन गर्ने गरेका छन्। यसले पर्यटन प्रवद्र्धनलाई समेत टेवा पुर्‍याएको छ। कर्णाली प्राविधिक शिक्षालयमा सञ्चालन हुन थालेको डिप्लोमा इन फार्मेसीको पठनपाठन निकै अनुशासित र व्यवस्थित बनाउँदै लैजाने कर्णाली प्राविधिक शिक्षालय जुम्लाले जनाएको छ।

डिबी बुढाले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्