काठमाडौं । कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरुले कोभिड–१९ को महामारीमा सिकाइ निरन्तरताका लागि विभिन्न वैकल्पिक विधि अपनाएका छन् ।

सामुदायिक विद्यालय शिक्षा सुधार समाज कर्णाली प्रदेशले आयोजना गरेको कोरोना महामारीकाबिच वैकल्पिक शिक्षण सिकाइका चुनौती, अवसर र उपलब्धि विषय भर्चुअल अन्तक्रियामा प्रदेशका सामुदायिक विद्यालयहरुले आफूहरुले लकडाउन अवधिमा सिकाइ निरन्तरताका लागि गरेका फरक अभ्यासहरु प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा जनज्योति मावि बड्डिचौर, सुर्खेतका प्रअ नारायणप्रसाद सिग्देलले कोभिड–१९ को महामारीको अवधिमा पनि विद्यालयले शिक्षणसिकाइलाई वैकल्पिक विधिबाट निरन्तरता दिइरहेको बताए । विद्यालयले शिक्षालाई आम्दानी र व्यवसायसँग जोडेकाले दुवैकामले निरन्तरता पाइरहेको बताए ।

विद्यालयले पहिले देखि नै ११ बढी टोल शिक्षा समिति बनाएर टोल टोलमा शिक्षण सिकाइ र शुक्रवारिय कार्यक्रम गर्दै आएकाले लकडाउनको अवधिमा पनि त्यसलाई निरन्तरता दिइएको जानकारी दिए । यसविचमा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र वैकल्पिक विधिबाट शिक्षणसिकाइ गरिरहेको जानकारी दिए ।

पढ्दै कमाउदै नाराका साथ विद्यालयले कक्षा ४ देखि नै विद्यार्थीहरुलाई कृषि ऋण उपलब्ध गराएर व्यवसाय र आम्दानीसँग जोड्ने काम गर्दै आएको उनले जानकारी दिए । लकडाउनमा घरमै रहेका बालबालिकालाई विद्यालयले योजना बनाएर उनीहरुले गर्ने दैनिक क्रियाकलाप र व्यवहारलाई सिकाइसँग जोड्ने प्रयास गरेको प्रअ सिग्देलले जानकारी दिए ।

चन्दननाथ नमूनामावि जुम्लाका प्रअ टंकबहादुर महतले विद्यालयले कोभिड–१९ को महामारीमा अनलाइन कक्षामार्फत् सिकाइ निरन्तरता, घुम्ति शिक्षा, चक्रिय कक्षामार्फत् सिकाइ निरन्तरताको प्रयास गरेको बताए । सबै विद्यार्थीको इन्टरनेट, रेडियो, टिभिमा पहुँच नभएको पाइएपछि टोलटोलमा घुम्ति शिक्षा सञ्चालन गरेको उनले जानकारी दिए ।

विद्यार्थी र अभिभावकलाई घरमै स्वअध्ययन गर्ने गराउने प्रति प्रोत्साहित गरेको, सिकाइका लागि प्राविधिक सीप बढाउने काम भएको, प्राविधिक शिक्षातर्फ कृषिखेती कामलाई निरन्तरता दिने काम विद्यालयबाट भएको प्रअ महतले जानकारी दिए । हाल विद्यालयमा प्राविधिक शिक्षातर्फ, बाली र वन विज्ञान तथा कक्षा ११–१२ मा विज्ञान र शिक्षा संकाय अध्ययनहुँदै आएको महतले जानकारी दिए । हाल विद्यालयमा १४ सय ७७ विद्यार्थी रहेका उनले बताए ।

चामुण्डा मावि दैलेखका प्रअ जयप्रसाद तिमिल्सनाले लकडाउनको अवधिमा पनि विद्यालयले विभिन्न वैकल्पिक माध्यमको प्रयोग गरेर शिक्षणसिकाइलाई निरन्तरता दिएको बताए । लकडाउनको अवधिमा विद्यालयले अनलाइन मार्फत् कक्षा १–९ को नतिजा प्रकाशन गर्ने, शिक्षक र विव्यसको जुम बैठक गर्ने, शिक्षकहरुलाई आइसिटि तालिम र प्रशिक्षक प्रशिक्षण पनि अनलाइनबाटै सञ्चालन गर्नेकाम गरेको प्रअ तिमिल्सनाले जानकारी दिए ।

विद्यालयमा क्यारेन्टाइन भएकाले आफूहरुले टोलटोलमा पुगेर पाठ्यपुस्तक वितरण र भर्नाको कार्यक्रम गरेको साथै गाउँगाउँमा पूर्व विद्यार्थी र माथिल्लो तहका विद्यार्थीबाट तल्लो तहका विद्यार्थीलाई सिकाइ कार्यक्रम सञ्चालन गर्दै आएको बताए । प्रत्ेक शिक्षकलाई निशुल्क ल्यापटप वितरण गरेर अनलाइन शिक्षालाई निरन्तरता पनि दिइरहेको भन्दै प्रअ तिमिल्सिनाले प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई एक घर एक पोलि हाउस कार्यक्रम सञ्चालन गरेर सिकाइलाई निरन्तरता दिइरहेको उनले बताए ।

विद्यालयमा ८५५ विद्यार्थी र ३२ शिक्षक कर्मचारी रहेका जानकारी दिँदै उनले विद्यालयले शिक्षालाई श्रम र उत्पादनसँग कमाउने र पढ्ने विद्यालयको रुपमा काम गर्दै आइरहेको बताए ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरुमा विपतको अवस्थामा पनि सिकाइ निरन्तरताका लागि भएका प्रयासहरु प्रशंसनीय रहेको बताए । अब पालिकास्तरमा शिक्षा सुधार रुपान्तरण कोष बनाएर शिक्षकलाई अपडेट र राम्रो गर्नेलाई सम्मानको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

अब टोलटोलमा पढ्ने र पढाउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै प्राडा कोइरालाले अनलाइनको सम्भावना छैन भनेर शिक्षक चुपलागेर बस्न नपाउने उनीहरुले अफलाइन विधिको शुरुवात गर्नुपर्ने बताए । अब अनलाइन र दूर शिक्षालाई शिक्षण सिकाइको वैकल्पिक नभइ पुरक विधि बनाउनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाहले शिक्षकले सबैभन्दा पहिले आफ्नो पेशा र कर्म प्रति सम्मान र गर्व गर्नुपर्ने बताए । ‘गुनासा र कमजोरीको मात्रै कुरा गरेर नबसौं अब पेशाको सम्मान गर्दै सिकाइलाई सुधार्न दिलोज्यान दिएर लागौं’, शाहले भने, ‘महामारीको बेला शिक्षकहरु नदिदाइ विभिन्न वैकल्पिक विधि प्रयोग गरेर सिकाइ निरन्तरतामा जोडिनु उल्लेखनीय काम हो, यसलाई निरन्तरता दिउँ ।’

सामुदायिक विद्यालय शिक्षा सुधार समाज कर्णाली प्रदेशका सल्लाहकार समितिका संयोजक गेहेन्द्रप्रसाद दाहालले स्थानीय र प्रदेश सरकारलाई सामुदायिक विद्यालय सुधारमा ध्यान दिन र शिक्षकहरुलाई विश्वास गर्न कार्यक्रम आयोजना गरिएको बताए । ‘शिक्षक र स्थानीय शिक्षा प्रशासकहरुलाई निरिह ठानिएको अवस्था छ । शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छैन ।’, दाहालले भने, ‘शिक्षकलाई विश्वास गर्दै जिम्मेवारी दिए सार्वजनिक शिक्षाको सुदृढीकरण टाढा छैन ।’

शिक्षकलाई तलबमात्रै दिँदैमा शिक्षामा सुधार नहुने भन्दै समग्र शिक्षामा लगानी हुनुपर्ने भन्दै दाहालले शिक्षकको पेशागत विकास र उत्साह जगाउने कार्यक्रमको आवश्यकतामा जोड दिए । शिक्षकहरुले पनि राजनीति, अन्य व्यवसाय र शिक्षक पेशा मध्ये एक रोज्नुपर्नेमा जोड दिँदै दाहालले शिक्षकहरु पूर्णरुपमा सिकाइ सुधारमा केन्द्रित हुनुपर्ने बताए ।

कर्णाली प्रदेश स्थानीयतहअन्तर्गतका शिक्षा इकाइकातर्फबाट बोल्दै नारायणप्रसाद न्यौपानेले प्रदेशका शिक्षकहरुको क्षमता र योग्यतामा प्रश्न नरहेपनि त्यसको प्रयोग गर्ने वातावरण र चाहनामा केही समस्या रहेको बताए । ‘सरकारको तर्फबाट पनि त्यसखाले वातावरण बन्न सकेन शिक्षकहरुपनि आफ्नो क्षमता कक्षाकोठामा पुरा देखाउन चुके’ न्यौपानेले भने, ‘पछिल्ला दिनमा शिक्षकहरुमा सिकाइ सुधारमा लाग्नुपर्ने रहेछ भन्ने भावना देखिएको छ । यो सकारात्मक पक्ष हो ।’

समाजका केन्द्रिय अध्यक्ष भिमप्रसाद पोखरेलले सामुदायिक विद्यालयका शिक्षकहरु कोरोना महामारीका बिचपनि आफ्नो कर्तव्य र जिम्मेवार प्रति पूर्ण बफादार रहेका बताए । अब अन्य प्रदेशले पनि यस्तै कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै समाजका कर्णाली प्रदेश अध्यक्ष अनन्तराज पन्तले कर्णाली प्रदेशका विद्यालयहरुले लकडाउन अवधिमा सिकाइ निरन्तरताका लागि गरेका फरक र सफल अभ्यासलाई देशव्यापी बनाउने र त्यसको विस्तार गर्ने लक्ष्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

समाजका प्रदेश ५ का अध्यक्ष प्रेमबहादुर बस्नेत, शिक्षक महासंघ कर्णाली प्रदेशका महासचिव गोविन्द ढकाल, नेपाल शिक्षक संघ काठमाडौं महानगरका अध्यक्ष नारायण गौतम, प्रदेश २ बाट शिक्षक सत्रुघन मुखियालगायतले लकडाउनको अवधिमा कर्णाली प्रदेशका विद्यालयहरुले सिकाइ निरनतरताका लागि गरेका प्रयासको प्रशंसा गरेका थिए ।

प्रतिकृया दिनुहोस्