काठमाडौं। जीवन विकास समाजले पहिलोपटक प्रदान गरेको दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ अन्तर्गतको सामुदायिक विद्यालय वा शैक्षिक संस्था तर्फको पुरस्कारबाट काठमाडौं चन्द्रागिरीस्थित कंकाली माध्यमिक विद्यालय सम्मानित भएको छ ।

समाजले शुक्रबार शितल निवासमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुलाई ३ लाख नगद र प्रमाणपत्रबाट सम्मानित गरेकी हुन्।

दिगो विकास लक्ष्य ४, समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा सबैका लागि जीवन पर्यन्त शिक्षाको प्रवर्द्धन गर्न उल्लेखनीय योगदान गरे वापत कंकाली माविलाई जीवन विकास समाजले सम्मान गरेको हो।

यही विधामा प्रोत्साहन स्वरुप एक÷एक लाख नगद र प्रमाणपत्रबाट सिन्धुली, फुस्रेटारमा रहेको जनज्योति मावि र झापा मेचिनगरमा रहेको आदर्श माविले प्राप्त गरेको छ।

पत्रकारिता तर्फको १ लाख राशीको पुरस्कारबाट शिक्षक मासिक र ५० हजार राशीको पुरस्कार आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देल र नागरिक दैनिकी पत्रकार रुबी रौनियारलाई प्रदान गरिएको छ ।

समाजले वितरण गरेको पुरस्कारमा पहिलो विधा गैर सरकारी संघसंथा तर्फ ५ लाख नगद र प्रमाणपत्रबाट ललितपुरमा रहेको रिड संस्थाले प्राप्त गरेको छ। यस्तै एक÷एक लाख नगद र प्रमाणपत्रबाट प्रोत्साहन पुरस्कार बिराटनगर, मोरङको नारी विकास संघ र बाल संरक्षण संस्था लालबन्दी सर्लाहीले प्राप्त गरेको छ।

जीवन विकास समाजले सन् २०१७ मा विश्वभर प्रतिस्पर्धात्मक छनौट भई एजिफन्ड इन्टरनेसनल प्राइजबाट तीन लाख अमेरिकी डलर प्राप्त गरेको थियो। सोही रकममा थप गरी कुल ६ करोड बराबरको जीवन विकास समाज, दिगो विकास कोष २०७६ स्थापना गरेको समाजका अध्यक्ष योगेन्द्र मण्डलले बताए।

सोही कोष मार्फत दिगो विकास क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न टेवा पुर्याउने उद्देश्यले यस क्षेत्रमा काम गर्ने संघसंस्था, सामुदायिक शैक्षिक संस्था र पत्रकार गरी तीन विधामा पुरसकार घोषणा गरिएको अध्यक्ष मण्डलले बताए ।

उनले थपे, ‘समाजले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ र निरन्तर गरिनै रहने छ।

प्रतिकृया दिनुहोस्