बुटवल । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा कालिका मानवज्ञान मावि बुटवलमा भर्चुअल कविता प्रतियोगिता सम्पन्न भएको छ ।

कोरोना र शिक्षा शिर्षकमा जुम मार्फत गरिएको कविता प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कोभिड–१९ को कारणले शिक्षा क्षेत्रमा पारेको प्रभावको बारेमा कवितामार्फत आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

कवितामा विद्यार्थीहरुले कोरोनाको कारणले शैक्षिक सस्थाहरु बन्द भएकोले विश्वभरी करोडौं बालबालिकाको पढाइ अवरुद्ध भएको, अभिभावकहरुले रोजगारी गुमाएकोले विद्यार्थीहरु भविष्यमा विद्यालय फर्कन गाह्रो भएको जस्ता पीडाहरु प्रस्तुत गरेका थिए ।

केहि सहभागीहरुले कोरोनाको कारणले विद्यार्थी र शिक्षकहरु प्रविधिमैत्री बनेको, गह्रौ झोलाहरु बोकेर ज्ञान प्राप्त गर्नुपर्ने बाध्यताबाट मुक्त भएर घरमै बसेर नविनतम प्रविधिको प्रयोग गरि सिक्ने अवसर पाएकोले खुशी समेत व्यक्त गरेका थिए ।

कविता मार्फत विद्यार्थीहरुले कोभिड–१९ ले दिएको पीडा, सिकाइमा असर मात्रनभई कोरोना नियन्त्रणमा विद्यार्थी र समुदायले गर्नुपर्ने विभिन्न कामहरुको बारेमा संदेश समेत दिएका थिए । विद्यालयमा कक्षा ८, ९ र १०मा अध्ययनरत २३ जना विद्यार्थीहरुले कविता वाचन प्रतियोगितामा भाग लिएका थिए ।

उक्त भर्चुअल कविता प्रतियोगितामा कक्षा १० कि प्रशंसा भट्टराई ,कक्षा ९ कि करुणा भुसाल, कक्षा ८ कि नवशिक्षा भण्डारी र कक्षा ९ कि सिमरन न्यौपानेले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए।

कोरोना कहरमा परेर विद्यालय संचालन गर्न सम्भव नभएको अवस्थामा पनि विद्यार्थीहरुलाई उनीहरुको सिर्जनात्मक क्षमता प्रस्तुत गर्नको लागि अवसर प्रदान गर्न र कोभिड–१९ विरुद्धको जनचेतना फैलाउनको लागि भर्चुअल माध्यम प्रयोग गरेर भएपनि कविता प्रतियोगिता आयोजना गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामिको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राजु शर्मा र आइएसए संयोजक युवराज तिवारीले गरेका थिए। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र अतिथि सहित करिब ६५० जनाको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्