काठमाडौं। ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौं बौद्ध महांकालस्थित जनकल्याण माविले प्रभातफेरीको आयोजना गरेको छ । कक्षा १० का १७० विद्यार्थीको सहभागीतामा बालअधिकार सम्बन्धी विभिन्न प्लेकार्डसहित प्रभातफेरी गरिएको हो ।

प्रभातफेरीपश्चात् विद्यालयमा नृत्य प्रतियोगिताको फाइनल कार्यक्रम सम्पन्न गरिएको थियो । प्रतियोगितामा विद्यार्थीका १३ समूह सहभागी रहेका थिए । यस्तै, २०७९ सालमा अन्य अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पनि बाल दिवसकै अवसर पारेर पुरस्कृत गरिएको थियो । विभिन्न कक्षाका विद्यार्थीहरुलाई गणित विषयमा रुचि बढोस् भन्ने उद्देश्यका साथ कक्षामा राम्रो मिहिनेत गर्ने साथै युनिट र साप्ताहिक परीक्षामा राम्रो गरेका विद्यार्थीहरुको गणित विभागले रुब्रिक्स मेथडबाट मूल्यांकन गरी पुरस्कृत गरिएको थियो । यसका लागि गणित विभागकी संयोजक मञ्जु बस्यालले आफ्नै स्रोतमा शैक्षिक सामग्रीको व्यवस्था गरेकी थिइन् ।

 विद्यार्थीहरुलाई  विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्र ढकालले पुरस्कार वितरण गरेका थिए ।  यस्तै कार्यक्रममा विद्यार्थीहरुले आपसमा बाल दिवसको शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै विव्यस अध्यक्ष दिलेन्द्र ढकालले आजका बालबालिका भोलिका कर्णधार भएकाले उनीहरुलाई असल शिक्षा, नैतिकता, सामाजिक भावना र राष्ट्रियताको शिक्षा दिन सके भोलिको मुलुक समृद्ध बन्ने बताए । जनकल्याण मावि निरन्तर गुणस्तरीय सिकाइ दिन प्रयासरत रहेको भन्दै ढकालले प्रविधियुक्त, जीवनोपयोगी शिक्षा नै विद्यालयको लक्ष्य रहेको सुनाए ।

यस्तै विद्यालयकी प्रधानाध्यापक कुमारी कमला राईले विद्यालयले सिकाइ र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढाउँदै आएको बताइन् । विद्यालयले बालबालिकामा रहेका विभिन्न प्रतिभा प्रष्फुटनका लागि गतिलो आधारभूमि तयार पार्ने प्रयास गरिरहेको भन्दै प्रअ राईले विद्यार्थीमैत्री र प्रविधियुक्त स्तरिय सिकाइका लागि प्रयासरत रहेको बताइन् । सबैले बालबालिकाको अधिकार संक्षणमा ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

जनकल्याण माविका शिक्षकहरुको सहभागितामा यसै वर्षदेखि स्नातक तहको अध्ययन शुरु गर्ने भएको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक एवं स्थानीय शिक्षासेवीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्