काठमाडौं। कतै तात्तातो सेलरोटी खानेको भिड, कतै मालपुवा, पुरी र तरकारी खानेको लाइन । एकातिर तात्तातो मःम खानेको घुइँचो, अर्कोतिर बारा र आलुको अचार खाँदै गरेका लस्कर । पानीपुरी खान कुर्नेको लाइन लामै थियो । भिड र चहलपहल हेर्दा कुनै ठूलो महोत्सवको झल्को आउँदथ्यो ।

यो दृश्य हो काठमाडौं बौद्ध, महांकालस्थित जनकल्याण माविले शुक्रबार आयोजना गरेको खाद्य महोत्सवको । जहाँ विद्यार्थीले दर्जन बढी मिठा–मिठा परिकार बनाएर बेचेका थिए । विद्यार्थीले बनाएका परिकारहरु चाख्न विद्यालय परिसरमा शिक्षक, विद्यार्थी, अभिभावक एवं स्थानीयहरुको ठूलै भिड लागेको थियो । आफ्नै छोराछोरीले मिहिनेतका साथ बनाएका परिकारहरु चाख्दा अभिभावकहरु दंग देखिन्थे ।

बिहान ८ बजेदेखि नै विद्यार्थीहरुको खाद्य स्टलले विद्यालय परिसर सजिएको थियो । विद्यार्थीहरुले विभिन्न खानेकुराका परिकारहरु प्रत्यक्ष नै पकाएर बिक्री वितरण गरेका थिए । विद्यालयमा सिकाइ हुने कुलनरी आर्टका कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले खाद्य महोत्सवमा सहभागिता जनाएका थिए । हरेक खाद्य परिकार तयार पार्न दुईहजार देखि ५ हजार रुपैयाँसम्म लगानी गरिएको थियो । जुन विद्यार्थी आफूहरुले लगानी गरेका थिए । सेलरोटीबाहेकका सबै खाद्य स्टलहरुले धेर थोर नाफा कमाएका थिए भने सेलरोटी तयार पार्ने विद्यार्थीहरुले साँवा मात्रै उठाएका थिए ।

विद्यार्थीलाई रमाइ रमाइ सिप सिकाउने तथा संस्कार, संस्कृति एवं अनुशासन बुझाउने विद्यालयको उद्देश्यअनुसार खाद्य महोत्सव आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक कुमारी कमला राईले जानकारी दिइन् । महोत्सवबाट विद्यार्थीहरुले एकातिर किताबमा सिकेका कुराहरु प्रत्यक्ष गरेर सिक्ने र अर्कोतर्फ ब्यापार सिक्ने, बुझ्ने अवसर पाएका उनको भनाइ थियो ।

महोत्सवमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरुसमेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्