काठमाडौं। निरन्तर गुणस्तरीय शिक्षा दिँदै आएको काठमाडौं बौद्ध महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताकासाथ मनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले वि.सं. २०१० मा स्थापना भएयता भोगेका आरोहअवरोह समेटिएको दस्तावेजसमेत लोकार्पण गरिएको थियो ।

साथै, नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई विशेष सम्मान तथा विद्यालयका उत्कृष्ट शिक्षक, विद्यार्थी एवं अभिभावकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बोल्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले अरुको आलोचना गर्न छाडेर सबैले आ–आफ्नो जिम्मेवारी सही ढंगले पुरा गर्नतिर लाग्यौं मात्रै सुधार गर्न सकिने बताए । जनकल्याण माविले छोटै समयमा शैक्षिक र भौतिक क्षेत्रमा फड्को मार्न सकेकोमा बधाई दिँदै उनले अब गुणस्तरिय र जीवनोपयोगी शिक्षामा केन्द्रित हुन आग्रह गरे ।


विद्यालय सुधारमा प्रधानाध्यापकको रोल कस्तो हुन्छ भन्ने कुरा यस विद्यालयले प्रष्ट देखाएको भन्दै मन्त्री पौडेलले सरकारले पनि प्रधानाध्यापकको आर्थिक र प्रशासनिक अधिकार वृद्धिका लागि प्रयास गरिरहेको बताए । सार्वजनिक शिक्षाको सुधार विना मुलुक समृद्ध बन्नै नसक्ने उनको जिकिर थियो । जनकल्याण देशकै नमूना बन्नेमा आफू ढुक्क रहेको उनको भनाइ थियो ।

विद्यालयकी प्रधानाध्यापक कुमारी कमला राईले विद्यालय गुणस्तरिय, संस्कारयुक्त जीवनोपयोगी शिक्षा दिन प्रतिबद्ध रहेको बताइन् । प्रविधियुक्त शिक्षा, समयसापेक्ष शिक्षण विधि र अनुशासन, सीप र संस्कारलाई विद्यालयले विशेषरुपमा अगाडि बढाइरहेको उनको भनाइ थियो । विद्यालय एक व्यक्तिले नभइ पुरा टिमले चाहे मात्रै सुधार हुने जिकिर गर्दै प्रअ राईले विद्यालयको प्रगतिमा विव्यस, शिअसं, शिक्षक, अभिभावक, विद्यार्थी, सहयोगी र समाजसेवीको उत्तिकै भुमिका रहेको बताइन ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्