काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरुले पुसमाघ देखिकै तलब नपाएको गुनासो गरेका छन् । उनीहरुले तत्काल तलब दिन समेत माग गरेका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरुको चैत्रसम्मको सम्पूर्ण तलब तुरुन्त प्रदान गर्न प्याब्सन र एन प्याब्सनसँग अनुरोध गरेको छ ।

इस्टुले नेपाल सरकारले २०७६ चैत्र ९ देखि यताको अवधिलाई सार्वजनिक बिदाका रूपमा लिएर स्वीकृत गर्न र कसैको पनि तलब नकटाउन राजपत्रमा सूचना प्रकाशित गरेको स्मरणसमेत गराएको छ ।

अध्यक्ष होमकुमार थापा र महासचिव भोलानाथ चालिसेद्वारा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै  शिक्षक तलब, कोरोना कोष, अनलाइन कक्षा, परीक्षालगायतका विषयमा इस्टुको ५ बुंदे धारणा सार्वजनिक गरेका हुन् ।

लकडाउनका कारणले विद्यालयहरूमा नियमित कक्षा अवरुद्ध भइरहेको अवस्थामा विद्यालय व्यवस्थापनले व्यवस्था गरेका विभिन्न प्राविधिक माध्यम तथा आफैंले पनि व्यवस्था गरेका माध्यमबाट विद्यार्थीहरूको सिकाइ प्रक्रियामा संलग्न भइराख्न इस्टुले शिक्षकहरूलाई अनुरोध गरेको छ ।

आफुहरुसँग कुनै छलफल नै नगरी आफ्नो विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको तलब कट्टा गरिरहेको गुनासो आएकोले त्यसो नगर्न, काटिएको रकम फिर्ता गर्न र पछि प्याब्सन र एन प्याब्सनसँग छलफल गरी मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने भएकाले त्यसै अनुसार गर्न इस्टुले अनुरोध गरेको छ ।
एसईई र कक्षा ११–१२ को परीक्षा रोकिइरहेको अवस्थामा शिक्षा ऐनका केही धारालाई अध्यादेश मार्फत परिवर्तन वा निलम्बन गरी नेपाल शिक्षक महासङ्घले दिएको सुझाब अनुसार परीक्षा गर्न इस्टुले माग गरेको छ ।

इस्टुको ५ बुंदे धारणा हेर्नुहोस्

१) तलबका सम्बन्धमा : नेपाल सरकारले २०७६ चैत्र ९ देखि यताको अवधिलाई सार्वजनिक बिदाका रूपमा लिएर स्वीकृत गर्न र कसैको पनि तलब नकटाउन राजपत्रमा सूचना प्रकाशित गरेको अवस्था छ । कति विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूलाई पुष माघदेखिकै तलब नदिइराखेको गुनासो आइरहेको छ । यसले गर्दा शिक्षक तथा कर्मचारीहरू ठूलो समस्यामा परेका छन् ।

२) कोरोना कोषको सम्बन्धमा : सस्थागत विद्यालयहरूले शिक्षक कर्मचारीको आधिकरिक युनियन इस्टुसँग छलफल नै नगरी आफ्नो विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको तलब कट्टा गरिरहेको गुनासो आएकोले त्यसो नगर्न, काटिएको रकम फिर्ता गर्न र पछि प्याब्सनरएन प्याब्सनसँग छलफल गरी मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने भएकाले त्यसै अनुसार गर्न अनुरोध छ ।

 ३) अनलाइन कक्षाका सम्बन्धमा : लकडाउनका कारणले विद्यालयहरूमा नियमित कक्षा अवरुद्ध भइरहेको अवस्थामा विद्यालय व्यवस्थापनले व्यवस्था गरेका विभिन्न प्राविधिक माध्यम तथा आफैंले पनि व्यवस्था गरेका माध्यमबाट विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सम्लग्न भइराख्न यो युनियन शिक्षक साथीहरूलाई अनुरोध गर्दछ ।

४) परीक्षाका सम्बन्धमा : केही केही विद्यालयहरू बाहेक अधिकांश विद्यालयहरूमा बाल सिकाइ कक्षादेखि कक्षा ९ सम्मको परीक्षा सकिइसकेको अवस्था छ । त्यसको परीक्षाफल प्रत्यक्ष रूपमा प्रकाशित गर्न सम्भव नभइराखेकाले अन्य प्रविधिमार्फत प्रकाशित गर्न विद्यालयहरूलाई सक्रियतापूर्वक सघाउन सम्पूर्ण शिक्षक साथीहरूलाई अनुरोध छ । त्यस्तै गरी एसईई र  कक्षा ११–१२ को परीक्षा रोकिइरहेको अवस्थामा शिक्षा ऐनका केही धारालाई अध्यादेश मार्फत परिवर्तन वा निलम्बन गरी नेपाल शिक्षक महासङ्घले दिएको सुझाब अनुसार परीक्षा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिन्छ ।

 ५) श्रद्धाञ्जली : एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष, बिहान क्षितिज स्कुल, कैलालीका सस्थापक प्रिन्सिपल श्री कृष्ण भुषालको यही २०७७ वैशाख ११ गते साथीको घरबाट आफ्नो घर फर्किदाँ कैलालीको मसुरिया जङ्गलमा असामयिक निधन भएकाले यो युनियन स्तब्ध भएको छ । मृतात्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा सङ्गठनलाई शोक सहन गर्ने क्षमता मिलोस् भनी यो युनियन हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दछ ।

२०७७ बैशाख १७ गते २२:१८मा प्रकाशित

प्रतिकृया दिनुहोस्