काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरुले माघ महिना देखिको तलव नपाएको गुनासो गरेका छन् । तलब नपाउनुको पीडाबिच विद्यालयहरुले धमाधम जागिरबाट निकाल्न थालेपछि उनीहरु आन्दोलनको तयारीमा जुटेका छन् ।

निजी विद्यालयमा कार्यरत शिक्षकहरुको साझा संगठन संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)का अध्यक्ष होमकुमार थापाले निजी विद्यालयमा कार्यरत शिक्षकहरुले माघ महिनादेखि तलब नपाएको गुनासो गरे । फागुन देखिको तलब नपाउने शिक्षकको संख्या पनि ठूलो रहेको उनको भनाइ छ ।

यसैबिच राजधानीका लिटिल एन्जल्स, बृह्स्पति विद्यासदनलगायत देशभरका विद्यालयहरुले धमाधम शिक्षकहरुलाई जागिरबाट निकाल्न शुरु गरेपछि निजी विद्यालयको घाउमा नूनचुक छर्ने काम भएको थापा बताउँछन् ।

‘तलब नपाउनुको पीडा छदैथियो फेरी जागिरबाट निकाल्न शुरु गरिएको छ, तत्काल जागिरबाट निकाल्ने काम बन्द गरेर तलब नदिए हामीहरु आन्दोलनमा जान बाध्य हुन्छौं’– थापाले भने । ‘एक हप्ता कुर्छौ, अर्को हप्ता सडकमा खाली थाल बोकेर आन्दोलनमा निस्कन्छौं ।’

यसैबिच इस्टुले शुक्रवार नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापालाई भेटेर आफ्ना माग पुरा गराउन पहल गरिदिन आग्रह गरेका छन् । सदनमा आफूहरुको आवाज उठाइदिन भन्दै शुक्रवार इस्टुका अध्यक्ष थापा, महासचिव भोलानाथ चालिसे, उपाध्यक्ष अमल राई, संरक्षक मुकुन्द न्यौपाने,देविदत्त पौडेललगायतको टोलि सांसद थापालाई भेट्न पुगेका थिए ।

भेटमा छाँया शिक्षामन्त्रीसमेत रहेका गगनकुमार थापाले सदनमा निजी विद्यालयका शिक्षकहरुको आवाज उठाइदिने तथा समस्या समाधानका लागि शिक्षामन्त्रीसँग छलफल गर्ने बताएका भेटमा सहभागी महासचिव भोलानाथ चालिसेले जानकारी दिए ।

सांसद थापाले सबै नभएपनि निजी विद्यालयहरुलाई निश्चित शीर्षकमा शुल्क उठाउन दिने, शिक्षकहरुलाई पनि पुरै नभएपनि ८०–९० प्रतिशत मात्रै तलब दिने गरी समाधानमा जान सकिने बताएका थिए ।

इस्टुका महासचिव भोलानाथ चालिसेले भने ४ महिनाको तलब एकैचोटी निजी विद्यालयहरुले दिने र त्यसमा ४ महिनाको सरकारले अनुदान थपिदिने गरी शिक्षकहरुलाई १२ महिनाको तलब दिन सकिने सुझाब प्रस्तुत गरेका थिए ।

चलिसेले भोलि नेकपाका सांसद पम्फा भुसाललाई भेटेर अनुरोध गर्ने र लगत्तै नेकपा, कांग्रेस र मधेशवादी दलका प्रमुख सचेतकहरुलाई अनुरोध गरिने जानकारी दिए । यो आगामी शुक्रबारसम्म पनि टुङ्गो नलागे आइतबारदेखि आन्दोलनको आधीबेहरी सिर्जना गरिने चालिसेले स्पष्ट पारे ।

हेर्नुहोस् इस्टुले सांसद थापालाई बुझाएको अनुरोध पत्र

श्री माननीय गगनकुमार थापा

विषयः अनुरोध पत्र

विश्वका अन्य मुलुकहरू झैँ नेपाल पनि कोभिड–१९ ले प्रभावित छ। लकडाउनले गदा सबै क्षेत्रहरूमा असर पारे जस्तै शिक्षा क्षेत्रमा पनि असर पारेको छ । परीक्षाहरु रोकिएका छन् । एसईईका बारेमा भर्खरै मन्त्रिपरिषदले स्वागत योग्य निर्णय गरेको छ । ऐनमा परिवर्तन भएर मापदण्ड बने पछि निजी लगानीमा सञ्चालित विद्यालयका हामी शिक्षकहरुले आफ्नो कर्तव्य पूरा गर्ने नै छौं ।

धेरैजसो निजी विद्यालय सञ्चालकहरुबाट शिक्षक कर्मचारीले नियुक्तिपत्र न्युनतम तलब र सञ्चयकोष पाएका छैनन् । विद्यालयहरू र शिक्षक कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा दर्ता गर्न यो युनियन र नेपाल शिक्षक महासंघले निरन्तर आवाज उठाइरहेको छ तर सञ्चालकहरुले टेरेका छैनन् । लकडाउन भन्दा अगाडिको र त्यसपछिका तलब भुक्तानी गरिएको छैन । शिक्षक कर्मचारीहरूलाई निष्कासन गरिएको खबर आइरहेका छन् ।

तसर्थ हामी शिक्षक कर्मचारीहरुका निम्न समस्याहरु संसदलगायत सबै सार्वजनिक कार्यक्रममा जोडदार रुपले उठाइदिनुहुन अनुरोध छ ।
१. शिक्षक कर्मचारीहरुलाई सबै महिनाको तलब दिइयोस् ।

२. शिक्षक कर्मचारीहरूलाई सेवाबाट निष्कासन गर्ने कार्य बन्द गरियोस र सबैलाइ सेवामा निरन्तरता दिइयोस् ।

३. समग्र निजी लगानीमा सञ्चालित विद्यालयहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचिकृत हुने बाध्यकारी व्यवस्था गरियोस् ।

होमकुमार थापा
अध्यक्ष

भोलानाथ चालिसे
महासचिव

प्रतिकृया दिनुहोस्