सिमकोट । हिमाली जिल्ला हुम्लाको एक विद्यालयले शनिवार पनि पठन–पाठन सुरु गरेको छ । कोरोना कहरले लामो समय पठन–पाठन हुन नसकेपछि कोर्ष नसकिने भन्दै विद्यालयले शनिवार पनि पठन–पाठन गर्ने गरेको हो ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर–४ को सीता माविका प्राधानाध्यापक जुनराज हमालले कोरोना संक्रमणले तीन महिनासम्म बन्दाबन्दी हुँदा पठन–पाठन हुन सकेपछि यो शैक्षिक सत्रको कोर्ष नसकिने देखिएपछि शनिबार पनि पठन–पाठन जारी राखेको बताए । बिहानी र दिउँसो गरि दुई सिफ्टमा उक्त विद्यालयले पठन–पाठन गर्दै आएको छ ।

सबै शिक्षक, विद्यार्थी र अविभावकसंगको समन्वयमा शनिवार पठन–पाठन गर्ने निष्कर्षमा विद्यालय पुगेको हो । प्रअ हमालले कक्षा छ देखि दशसम्मका १९० जना विद्यार्थीहरु शनिवारको पठन–पाठनमा सहभागी भएको बताए । उक्त विद्यालयमा अब शनिवार यो शैक्षिक सत्र भरि पठन–पाठन हुने छ ।

यसअघि विद्यार्थीहरुलाई पनि शनिवारको पठन–पाठनमा अनिवार्य उपस्थिती हुनु पर्ने विद्यालयले निर्देशन जारी गरेको थियो । एउटा बेन्चमा तीन जना बिधार्थीलाई बस्ने व्यवस्था विद्यालयले गरेको छ । शनिवारको कक्षामा पनि नब्बे प्रतिशत विद्यार्थी उपस्थिती भएको विद्यालयले जनाएको छ ।

हुम्ला जिल्लामा कोरोना संक्रमण पछि पहिलो पटक विद्यालय संचालनमा ल्याउन खार्पुनाथ गाउँपालिका परेको छ ।

प्रतिकृया दिनुहोस्