सिमकोट । हालसम्म कोरोना संक्रमणका हिसावले ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लालाई बचाउनका लागि सावधानी अपनाउनका लागि नेपाल विद्यार्थी संघले स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको छ । जिल्लामा कोरोना संक्रमण विरुद्ध कुनै प्रकारका सुरक्षणका उपायहरु अपनाएको नदेखिएको भन्दै नेविसंघले ध्यानाकर्षण गराएको हो ।

नेविसंघले आफ्नो ध्यानाकर्षणमा सार्वजनिक स्थलमा माक्सको प्रयोग अनिवार्य गर्नुपर्ने, भिडभाड हुने कार्यक्रम गर्न नहुने व्यवस्था गर्न, हुम्ला जिल्लामा भित्रिने सबै नाकालाई शिल गर्नु पर्ने, एक एक एक जनाको स्वाब संकलनको व्यवस्था गर्नु पर्ने, काठमाडौं, नेपालगञ्ज, सुर्खेतबाट आउने हवाई जहाज र हवाई जहाजमा आउने सामानलाई डिस इम्फेक्सनको उपाय अपनाउनु पर्ने, जिल्ला आउने यात्रुलाई अनिवार्य क्वारेन्टिनमा बस्ने ब्यबस्था गर्नु पर्ने उल्लेख गरिएको छ ।

हाल कुनै गाउँपालिकामा क्वारेन्टिन र आइसोलेशनको ब्यबस्था नभएको हुदा त्यसको ब्यबस्था गरिनु पर्ने र सिमकोट बिमान स्थल र जिल्ला भित्रिने सबै नाकामा हेल्थ डेस्कको व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र संघका अध्यक्ष धर्मराज जोशीले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीलाई बुझाएका थिए । पत्र बुझ्दै सम्भव भएसम्म कोरोना संक्रमणबाट जोगिने उपायहरु अपनाउने व्यवस्थाका लागि सम्बद्ध पक्षसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्