पोखरा । कोरोना भाइरस(कोभिड–१९)को त्रासका कारण मुलुकमा बन्दाबन्दीको अवस्थामा रहँदा अनलाइन बैठक र छलफलले खुबैचर्चा पाउन थालेको छ । सामान्य हालचाल बुझ्न देखि लिएर विभिन्न गहन विषयमा छलफल साथै नीति निर्माणमासमेत यसको प्रयोग हुन थालेको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, पोखरा महानगर समितिले भने यस बन्दाबन्दीको अवस्थामा अनलाइन छलफललाई केही भिन्न तरिकाले अगाडि बढाएको छ ।

संगठनले विगत तीनदिन देखि अनलाइन मार्फत् नै शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षण सिकाइ तालीम सञ्चालन गरिरहेको छ ।

शनिबारदेखि औपचारिक रुपमा सुरु भएको अनलाइन तालीममा नियमित रुपमा शिक्षकहरुलाई नवीनतम शिक्षणविधि, प्रविधिको विषयमा विषयमा प्रशिक्षण सञ्चालन गरिरहेको संगठनका महानगर समितिका अध्यक्ष भुवन सुवेदीले जानकारी दिए ।

विश्वव्यापी कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा बसिरहेका शिक्षकहरुको समयको सदुपयोगसँगै विद्यालय बन्द रहेको अवस्थामा कसरी विद्यार्थीलाई प्रविधिको प्रयोगमार्फत् शिक्षण गर्न सकिन्छ भन्ने विषयमा तालीम सञ्चालन भइरहेको सुवेदीले बताए ।

तालीमको तेस्रो दिन सोमबार सिकाइमा माइक्रोसफ्ट एक्सेलको प्रयोगका सम्बन्धमा प्रशिक्षण सञ्चालन भएको थियो । सञ्चारविज्ञ छवि आचार्यले यस विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए ।

तेस्रो दिनको तालीम कार्यक्रमको प्रमूख अतिथि संगठनका नेता एवं शिक्षक महासंघका केन्द्रिय सहअध्यक्ष पूर्णप्रसाद दवाडीले तालीमले मुलुकले खोजेको प्रविधिमैत्री शिक्षक विकास गर्ने कुरामा आफु ढुक्क रहेको बताए । अनलाइन मार्फत् महानगर समितिले यति महत्वपूर्ण तालीम सञ्चालन गरेकोमा बधाइ दिँदै यो अनुकरणीय कार्यको बिस्तार हुनुपर्ने उनको धारणा थियो ।

तालिमको पहिलो दिन कसरी प्रविधिमैत्री शिक्षक बन्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गरिएको थियो । जसमा प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय महासचिव देवीप्रसाद शर्माले सहजीकरण गरेका थिए । यस्तै, आइतबारको तालीममा सुशील उप्रेतीले डिजिटल लाइब्रेरीका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले पेसागत सङ्घ, सङ्गठनले राखेका उद्देश्यलाई पोखरा महानगर समितिले पूरा गर्ने लक्ष्यमा हिँडेकोमा खुसी व्यक्त गरेका थिए । तालीमको सफलताको शुभकामना दिँदै अध्यक्ष अधिकारीले अबको शिक्षक र शिक्षण सिकाइ प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

यस्तै, सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इञ्चार्ज झपिन्द्रबहादुर क्षेत्री र गण्डकी प्रदेशका अध्यक्ष सोमनाथ ढुङ्गानाले समितिको कदमको प्रशंसा गर्दै तालीम पश्चात् शिक्षकहरु प्रविधिमैत्री बन्ने विश्वास व्क्त गरेका थिए ।

सङ्गठनका जिल्ला सचिव प्रकाश रिजालले प्रविधिका माध्यमबाट शिक्षकहरुलाई प्रशिक्षित गराएर कक्षाकोठासम्म ज्ञान र सीप पुर्याउने कुरामा सङ्गठन लागिपरेको बताए । कार्यक्रमको सञ्चालन महानगर समितिका सचिव विकल पौडेलले गरेका थिए ।

तालीममा पोखरा महानगर समितिका पदाधिकारीहरुका साथै जिल्ला र अन्य स्थानीय तहगत समितिहरुका झण्डै ४० जनाको सहभागिता रहेको छ ।

२०७७ बैशाख ८ गते २२:१९मा प्रकाशित

प्रतिकृया दिनुहोस्