काठमाडौँ  । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न सबै जिल्लामा दिवा खाजा कार्यक्रम लागु गर्ने भएको छ । हाल ४३ जिल्लामा लागु यस कार्यक्रमलाई देशभर लागु गर्ने सरकाले जनाएको छ ।

आर्थिक वर्ष २०७७–०७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले देशभरका कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको बताए ।  यसबाट २८ लाख बालबालिका लाभान्वित हुने मन्त्री खतिवडाले बताए ।

यस्तै,  आगामी वर्ष २६ लाख विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न २ अर्ब ७० करोड विनियोजन गरिएको उनले बताए । साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गरिने बताए ।

यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरेको छ । भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा र रेडियो टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्ने सरकारको तयारी छ ।

यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय विद्यालय भवन र ३८ आंगिक क्याम्पस भवनको पुर्निर्माण गर्ने सरकारको तयारी छ । २ हजार ५२० कक्षाकोठा, १–१ हजारको संख्याको विज्ञान प्रयोगशाला, पुस्ताकलय र कम्प्युटर ल्याब स्थापना गरिने बजेटमा उल्लेख छ ।

१३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहलाई सशर्त अनुदान दिने अर्थमन्त्री खतिवडाले बताए । यसका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको उनले बताए ।

यस्तै, गणित विज्ञान जस्ता विषयका लागि थप स्वंसेवक शिक्षक राख्नका लागि २ अर्ब २३ करोड विनियोजन गरिएको छ । सरकारले मातृ भाषामा पढाइ हुने मदरसा,गुरुकुल गुम्बा लगायतका शैक्षिक संस्थाहरुलाई आधुनिक शिक्षाको मूलधारमा लगिने छ ।

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले २ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

२०७७ जेष्ठ १५ गते १८:०३मा प्रकाशित

प्रतिकृया दिनुहोस्