ओखलढुङ्गा । लकडाउनको समयमा पनि जोडतोडले निर्माण कार्य चलेपछि ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर–३ सिस्नेरि सल्लेरिस्थित जलकन्या आधारभूत विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको छ ।

विद्यालयका नवनियुक्त प्रधानाध्यापक हरिवंश पराजुलीले सक्रियता देखाएपछि निर्माण शुरु भएर बिचमा लामो समय रोकिएको विद्यालय भवनको निर्माणले पूर्णता पाएको हो ।

लकडाउनको समयमा अन्य शिक्षक र प्रअहरु घरमै सुरक्षित बसिरहेको बेला पराजुली भने दैनिक विद्यालय भवन निर्माणमा खटेका थिए ।
विद्यालयमा हाल कक्षा १–५ सञ्चालनमा छ । २०४८ सालमा स्थापना भएको विद्यालयमा पुरानो जस्ताले छाएको ३ कोठा भवनबाट निकै दुखले सञ्चालन हुँदै आएको थियो ।

एउटामा अफिसकोठा, अर्कोमा बालकक्षा, कक्षा एक र दुईका विद्यार्थी र एउटामा कक्षा तीन, चार र पाँचका विद्यार्थीलाई सँगै राखेर पठनपाठन हुँदै आएको थियो ।

भूकम्पले भएका भवन ध्वस्त भएको र पुनर्निर्माणमा ढिलाइ हुँदा दैनिक पठनपाठनमा समेत समस्या हुँदै आएको थियो ।

बल्लतल्ल जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गाले विद्यालयमा चारकोठे भवन निर्माण गर्न ६९ लाख बजेट दिएपछि हौसिएका प्रअ पराजुली लकडाउनमा पनि भवन निर्माणमा कस्सिएका थिए ।

समयमा निर्माणकार्य सम्पन्न नभए वजेट नै फिर्ता जाने अवस्था आएपछि प्रअ पराजुलीको सक्रियतामा लकडाउन अवधिमै रातदिन निर्माणकार्य चलेको थियो ।

यसअघि तत्कालीन प्रधानाध्यापक भोला अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर तामाङले निर्माण सम्झौता गरेको भएपनि तत्कालीन प्रअ अधिकारी घर पाएक सरुवा भइ गएपछि निर्माणमा ढिलाइ भएको थियो ।

पछि, सहायक प्रधानाध्यापक टंक बुढाथोकीले प्रधानाध्यापकको जिम्मेवारी सम्हाले पनि उनीपनि अस्थायी शिक्षकको आन्तरिक परीक्षामा असफल भए पछि र करिव १ वर्ष इसिडि शिक्षक कल्पना तामाङले प्रधानाध्यापकको जिम्मेवारी समाल्दा विद्यालय निर्माण कार्यले गति लिन सकेको थिएन ।

विद्यालय भवनको पहिलो दोश्रो र टप ढलान भएपनि अरु काम रोकिएको थियो । अझ, तत्कालीन विव्यस अध्यक्ष लाल बहादुर तामाङले विद्यालय निर्माण गर्न नसक्ने भनेर कामै रोकेका थिए ।

२०७६ मंसिर १८ गते नियुक्ति लिएर मंसिर २२ गते विद्यालयमा हाजिर भएसँगै प्रधानाध्यापक भएर काम शुरु गरेका पराजुलीले विद्यालय पुनर्निर्माणको काम फेरी अगाडि बढाएका थिए ।

न भवन, न विव्यस रहेको अवस्थामा प्रअ भएका पराजुलीकै अगुवाइमा अभिभावकहरुको सर्वसम्मतिबाट हर्क बहादुर थापा क्षेत्रीको अध्यक्षमा विव्यस गठन गरी, पुरानो हिसाब निवर्तमान अध्यक्ष लाल बहादुर तामाङले नयाँ समिति र प्रधानाध्यापकलाई दिए पछि नयाँ समितिले भवन निर्माणका लागि पुनः म्याद थपको अनुरोध गर्ने निर्णय गरेको थियो । सोही अनुरोधपछि भवन निर्माण कार्य पुनः अगाडि बढेको थियो ।

बल्लतल्ल शुरु हुन लागेको भवन निर्माण कार्य पुनः २०७६ चैत्र १० गते बाट लकडाउन भए पछि अनिश्चित बन्न पुगेको थियो ।

एकातिर लकडाउन, अर्कोतिर जिल्ला आयोजना कार्यान्वयन इकाईको असार १५ भित्र भवन नबने वजेट फ्रिज हुने पत्र पछि प्रअ पराजुली भवन निर्माणमा तातेका थिए ।

लकडाउन भनेर घरमा बसे विद्यालय भवन नै नबन्ने अवस्था आएपछि सामाजिक दुरी कायम गर्दै विद्यालय भजन निर्माणमा जुटेको उनले बताए ।

आफु विद्यालय नजाँदा प्रअ घरमा आराम गरेर बसेको छ भन्ने आरोप आउन सक्ने भनेर कामदारलाई हौसला दिन र अन्य व्यवस्थापनको काममा सघाउन नियमित विद्यालय जाने गरेको प्रअ पराजुलीले बताए ।

‘विद्यालयसम्म यातायातको सुविधा नपुगेको र सबै सामान करिब २ घन्टा मानिसले बोकेर ढुवानी गर्नुपर्ने बाध्यता रहेकोले निर्माण कार्यलाई कठीन बनाएपनि आत्मबल भ एगर्न सकिने रहेछ’– प्रअ पराजुलीले भने ।

प्रअ नै दिनरात विद्यालय निर्माणमा खटिएपनि विव्यस र स्थानीय अभिभावकहरुले पनि साथ दिएका थिए ।

विद्यालय निर्माण सम्पन्न गर्नमा वडा नम्बर–३ का वडा अध्यक्ष बिष्णु कुमार खड्का र जिल्ला समन्वय समिति ओखलढुङ्गाका सभापति जय बहादुर थापा, सुनकोशी गाउँपालिका अध्यक्ष रुद्र अधिकारी, सुनकोशी गाउँपालिका शिक्षा शाखा प्रमुख विवेक कुमार तामाङ, प्रविधिक सहयोग गर्ने इन्जिनियर विशाल शाह ठकुरीलगायतले अमूल्य सहयोग गरेको भन्दै प्रअ पराजुलीले धन्यवाद दिए ।

लामो समय निर्माण कार्य रोकिएपनि विद्यालयको पुनर्निर्माण फेरी शुरु भएर सम्पन्न भएपछि अभिभावकहरु हर्षित बनेका छन् । ‘युवा र इमान्दार र मिहिनेती प्रअ पाएकाले विद्यालय भवन बनेरै छाड्यो’– एक अभिभावकले भने ।

लकडाउन र कोरना महामारिको बेला स्वास्थ्य जोखिममा राखेर निर्माण कार्यमा खटेर भवन निर्माण सम्पन्न गरेका रहेको प्रधानाध्यापक पराजुलीले गर्वका साथ भने–‘ विद्यालय भवन बन्यो अब शिक्षा बनाउँछौं ।’

विद्यालयले अब सम्पूर्णध्यान शिक्षाको गुणस्तर सुधारमा केन्द्रित गर्ने पराजुलीले प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस्