कविताः विद्यार्थी ?  बजेट ! 

Avatar photo

Byएजुकेशन पाटी

१३ असार २०७७, शनिबार

विद्यार्थी ? बजेट !

कापीको पाना खोज्दै भौंतारिदा

चुरोटको बट्टाको भित्री सेतो भाग भेटेपछि

खुसी हुँदै

आमालाई पेन्सिल किनिदिन आग्रह गर्ने

त्यो कलिलो मस्तिष्कलाई

तिम्रो बजेटले अक्षर पार्न

सघाउ पूर्याउला !

 

कठ्याङ्ग्रिदो चिसोमा

लुगलुग काम्दै

टाँक नभएको एकसरो कमिज लगाएर

स्कूल प्रवेश गर्ने चाह भएको

भोलिको यो देशको

कर्णधाको उपमा पाएकोलाई

तिम्रो बजेटले न्यानो देला !

 

त्यस्तो अबोध

जसको आवाज पनि राम्रोसँग फुटेको छैन

जसले आफ्नो भविश्यलाई अलि टाढा राखेर

वर्तमानमा ज्यूने झिना तान्द्राहरू खोज्दै

तिमीले महङ्गो मूल्य तिरेर पिएको,

तातो चिया होस् या चि…सो

जुठा ती शिशाका गिलास पखाल्दै गर्दा

हातबाट रगतका छिर्काहरू बगाउँदै

आफ्नो पेट पाल्न विवश अबोधको लागि

तिम्रो बजेटले बोध गर्ला ?

 

एउटा बेसहारा

जो गुडिरहेको गाडिको

ढोका ढकढकाउँदै

चर्को स्वरमा

आफ्नो पेशालाइ स्थापित गराउन

दत्तचित्त भएको छ

त्यो बेसहारालाई

तिम्रो बजेटले सहारा देला ?

 

केही सिक्नका लागि

केही जान्नका लागि

२/४ घण्टाको बाटो हस्याङ्फस्याङ् गरि

दौडिदै गर्दा

चिप्लिएर घाइते भएको आशाको ज्योति

स्कूल पुग्नुपर्ने बेला

अस्पतालको शैयामा छट्पटाइरहेको

त्यो आशाको धरोहरलाई

तिम्रो बजेटले विद्यालय पुर्याउला ?

         

                   – सम्पादक / संयोजक 

            गुराँस राष्ट्रीय विविध पत्रिका 

                  गनपा -८ बागलुड

प्रतिकृया दिनुहोस्