विश्व शिक्षक दिवस किन ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१९ आश्विन २०७७, सोमबार


आज विश्व शिक्षा दिवस हो । संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टुबर ५ का दिन निरन्तर विश्व शिक्षक दिवस मनाइँदै आएको छ । कुनैपनि दिवस सम्बन्धित विषयवस्तुको सन्दर्भमा भएको कुनै महत्वपूर्ण कार्य वा घटनाको स्मरणार्थ मनाउने गरिन्छ । अक्टुवर ५, १९६६ मा शिक्षकहरूको सेवा, सुविधा सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले महत्वपूर्ण सिफारिस गरेको र त्यसलाई संयुक्त राष्ट्र सङ्घले स्वीकार गरेको दिनको सम्झनामा विश्व शिक्षक दिवस मनाउन शुरू गरिएको हो ।

के छ सन् १९६६ को सिफारिसमा ?
मानवअधिकार, बालअधिकार र शिक्षा प्राप्तिको आधिकारलाई सुनिश्चित गर्नका लागि जारि गरिएको आइएलओ/युनेस्को रेकमेण्डेशन कन्सर्निङ्ग दि स्टाटस् अफ टिचर्स, अक्टुबर ५, १९६६ विशेषगरी शिक्षक तयारी, नियुक्ति, बढुवा, पेशागत अधिकार, जिम्मेवारी र सहयोग, शिक्षक शिक्षा, सेवा, शर्त र सुविधा, तलब तथा सेवाको सुरक्षा र शिक्षक आपूर्ति जस्ता पक्षमा सिफारिस गरिएको छ । सिफारिसमा उल्लेखित निर्देशक सिद्धान्तमा शिक्षा विकासका लागि शिक्षक र कार्यस्थलको महत्वको बारेमा भनिएको छ । शिक्षाको विकास शिक्षकको योग्यता र क्षमतामा निर्भर गर्ने भएकाले शिक्षकहरूको भूमिकालाई महत्व दिइएको छ । शिक्षण विशेष प्रकारको सिप भएको विज्ञ व्यक्तिबाट गरिने एउटा सार्वजनिक सेवा हो । शिक्षणका लागि प्रभावकारी सिकाइ र शिक्षकलाई पेशागत कार्य सम्पादन गर्नका लागि सक्षम बनाउने उपयुक्त वातावरण आवश्यक पर्दछ । त्यसैगरी शिक्षा वालवालिकाको मौलिक अधिकार र देश विकासको लागि अल्प तथा दीर्घकालीन भूमिका खेल्ने भएकोले शिक्षाको परिमाणात्मक मात्र नभै गुणात्मक विकासका लागि समेत राष्ट्रिय प्राथमिकतामा राखेर योजना बनाउन सिफारिस गरिएको छ ।

सिफारिसको पेशागत तयारी उपशीर्षक खण्डमा समाजका लागि आवश्यक शिक्षा प्रदान गर्न सक्ने योग्यता, सिप र क्षमता भएका व्यक्ति छनोट गर्ने, शिक्षक तयारी पाठ्यक्रमबाट मनोविज्ञान, शिक्षणविधि, विषयवस्तु र पेशागत सञ्चार तथा सम्बन्ध सिपहरू विकास गर्ने, र शिक्षकलाई आवश्यक पर्ने सिप विकास तथा अनुसन्धानात्मक कार्य गरी सिफारिस गर्ने प्रकृतिका शिक्षक तयारी संस्थाहरू हुनुपर्ने बताइएको छ । त्यसैगरी शिक्षकहरूको निरन्तर पेशागत विकासका लागि सेवाकालीन शिक्षक शिक्षा कार्यक्रमहरू सञ्चालन गर्ने, शिक्षकहरूको सहभागिता र सुविधाका लागि सहयोग गर्ने र पेशागत सिकाइका लागि स्वदेश वा वैदेशिक भ्रमणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न सिफारिस गरिएको छ ।

रोजगारी र पेशा उपशीर्षकमा शिक्षकहरूको प्रवेश, पेशागत बृद्धि र बढुवा, पेशागत सुरक्षा र कार्यकाल, औषधि उपचार, महिला शिक्षक र पारीवारिक जिम्मेवारी र आंशिक सेवा सम्बन्धि व्यवस्था गरिएको छ । शिक्षकका अधिकार र कर्तव्यसहित पेशामा प्रवेश गरेका शिक्षकहरूलाई निश्चित अवधिको परीक्षण काल, शैक्षिक प्रशासनिक जिम्मेवारी प्रदान र बढुवा, पेशागत स्थायीत्व र सुरक्षा, पेशागत आचारसंहिताको पालना, आवधिक स्वास्थ्य परीक्षण सुविधा, विवाह वा गर्भावस्थाका कारण महिला शिक्षकको पेशामा असर नपर्ने र आंशिक शिक्षकहरूको समेत सुविधा र सुरक्षाको व्यवस्था सिफारिसले गरेको छ ।

शिक्षकका अधिकार र जिम्मेवारी अन्तर्गत शिक्षकहरूलाई प्राज्ञिक स्वतन्त्रता हुनेर पाठ्यक्रम, शिक्षणविधि र सामग्री छनोट गर्न सक्ने भनिएको छ । शिक्षकहरूले पेशागत कार्यमा उच्चतम स्तर कायम गर्न प्रयासरत रहने र अतिरिक्त कार्यका समेत आफूलाई सक्षम बनाउनु पर्दछ । शिक्षकहरूलाई पेशागत सङ्गठनमा आवद्ध हुने र पेशागत संगनले समग्र शिक्षा र शिक्षकको विकासमा भूमिका खेल्नु पर्दछ । शिक्षा विकासका सबै क्रियाकलापमा पेशागत सङ्गठनको सहभागिता र सुझाव अपरिहार्य हुन्छ भनिएको छ । यसका अतिरिक्त शिक्षकहरूलाई अन्य नागरिक सरह नागरिक तथा सामाजिक अधिकार उपभोग गर्ने अधिकार पनि प्रदान गरेको छ ।

सिफारिसमा प्रभावकारी शिक्षण–सिकाइका लागि हरेक विद्यार्थीलाई पहुँच पुग्ने गरी विद्यार्थी संख्या, शिक्षण सामग्री, सहयोगी स्टाफ, निश्चित कार्य घण्टा, वार्षिक विदा, अध्ययन विदा, विशेष विदा, विरामी र सुत्केरी विदाको व्यवस्था गर्ने भनिएको छ । यसैगरी विद्यालय भवनसहितका भौतिक व्यवस्था र दुर्गममा कार्यरत शिक्षकका लागि थप आर्थिक सहयोग हुनुपर्ने भनिएको छ । यसैगरी शिक्षकहरूको सामाजिक सुरक्षा अन्तर्गत शिक्षकहरूको उपचार र पेन्शनको व्यवस्था गर्ने भनिएको छ । यसैगरी शिक्षकको नियमित आपूर्ति गरी शिक्षा विकासमा लाग्नु हरेक देशको जिम्मेवारी भनिएको छ ।

शिक्षा विकासको सन्दर्भमा शिक्षकका जिम्मेवारी र शिक्षकका पेशागत अधिकार र कर्तव्यका सम्बन्धमा गरिएको सिफारिसको महत्वलाई ध्यानमा राखेर हरेक वर्ष विश्व शिक्षक दिवस विविध कार्यक्रम गरी विश्वभर मनाउने गरिएको छ ।

विश्व शिक्षक दिवस २०२०
युनेस्को, आइएलओ र एडुकेशनल इन्टरनेशनल (इआई) ले संयुक्त रुपमा विश्व शिक्षक दिवस मनाउने भएका छन् । विश्वभर अक्टुवर ५ देखि १२ सम्म विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व शिक्षक दिवसको आदर्श वाक्य “टिचर्सः लीडिङ्ग इन क्राइसिस, रिइम्याजिनिङ्ग फ्युचर” रहेको छ । हरेक वर्ष आजको दिनलाई गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकहरूको सम्मानमा मनाइने गरिन्छ । यस वर्ष विश्व कोभिड–१९ महामारीबाट आक्रान्त भएको समयमा प्रस्तुत आदर्श वाक्यले शिक्षक दिवसको सार्थकता बढाएको छ ।

विश्व शिक्षा दिवसका अवसरमा युनेस्को, आइएलओ र इआईका अधिकारीहरूबाट संयुक्त रुपमा जारी विज्ञप्तिमा समेत महामारीका समयमा करिव ९० प्रतिशत विद्यालय बन्द हुँदासमेत निरन्तर सिकाइका लागि शिक्षकहरूले पु¥याएको योगदानको सम्मान गरिएको छ । विश्वमा १.६ बिलियन विद्यार्थीहरू (९० प्रतिशत) विद्यालय बन्दका कारण प्रभावित भैरहेको अवस्थामा शिक्षकहरूले अनलाइन शिक्षण, भच्र्युअल विधि, रेडियो, टेलिभिजन लगायतका वैकल्पिक विधिको प्रयोग गरेर भए पनि सिकाइ निरन्तरता दिएका छन् । यसका साथै सिकाइ निरन्तरताका लागि लगानी बृद्धि, शिक्षक तालिम र पूर्वाधार निर्माणमा जोड दिन आह्वान गरिएको छ । नयाँ परिस्थितिमा शिक्षकहरूमा डिजिटल साधनको पहुँचका साथै अनलाइन शिक्षणका लागि आवश्यक सिप प्रदान गर्ने तालिमको आवश्यता पूरा गर्नका लागि थप लगानी गर्न आवश्यक रहेको औंल्याइएको छ ।

विश्व शिक्षक दिवसका अवसरमा आजै प्रत्येक दुई वर्षमा युनेस्कोले प्रदान गर्ने तिन लाख अमेरिकी डलर राशीको युनेस्को–हमदान प्राइज फर द इफेक्टिभनेश अफ टिचर्स प्रदान गरिने छ । सबै कार्यक्रम भच्र्युअल हुने यस वर्षको एक हप्ते विश्व शिक्षक दिवस कार्यक्रममा शिक्षक नेतृत्वसिप, शिक्षणविधि र इआइका क्षत्रीय संगोष्ठि गरेर मनाइँदै छ ।

नेपालका लागि उपयोगिता
नेपालले पनि केही पाठ सिक्न सक्ने देखिन्छ । भच्र्युअल कार्यक्रम भएका कारण नेपाली शिक्षकहरूलाई समेत अनलाइन सहभागिताका लागि सजिलो छ । हप्ताभरी गरिने गोष्ठी र कार्यक्रममा विभिन्न विज्ञहरूबाट विपद र शिक्षणसिकाइ निरन्तरताका सन्दर्भमा प्रस्तुति र छलफल हुने भएकाले कक्षागत, संस्थागत र सामाजिक नेतृत्वदायी भूमिका खेल्ने उत्प्रेरणा र सिप विकास हुने छ । यसैगरी डिजिटल साधनको पहुँच, सिप विकास र शिक्षणविधिमा डिजिटल प्रविधि, ब्लेण्डेड विधि, हाइब्रिड विधिको प्रयोगका बारेमा थप ज्ञान हासिल हुने छ । विश्वभर भैरहेका प्रयाशहरूका बारेमा जानकारी लिने र उपयोगी तरिकाहरू नेपालमा उपयोग गर्न र हामीले गरिरहेका असल अभ्यास अरूलाई बताउने अवसर पनि हो । यसले आत्मसमिक्षा गर्ने र आत्मविश्वास बढाउनका लागि सहयोग गर्दछ । शिक्षक, अभिभावक र अधिकारीहरूको जिम्मेवारी र भूमिकाका बारेमा धेरै छलफल हुने छ । यी छलफलबाट परिवर्तित अवस्थामा नयाँ आवश्यकतालाई सम्बोधन गर्न शिक्षक र सरोकालाहरूको संयुक्त प्रयाश भयो भने मात्र शिक्षणसिकाइ निरन्तरताको सुनिश्चितता गर्न सकिन्छ ।
इमेलः [email protected]

प्रतिकृया दिनुहोस्