काठमाडौं । नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन्। बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर छ। बालबालिका बेचबिखनदेखि लिएर यौनजन्य, घरेलु मजदुर, आपराधिक क्रियाकलाप, इन्टरनेटको दुरूपयोगजस्ता क्रियाकलापमा संलग्न गराउन बालिका हराउने गरेको खोजतलास केन्द्रको प्रतिवेदनले देखाएको छ।

खोजतलास समन्वय केन्द्रका इन्चार्ज मोहनविक्रम दाहालले बढी संख्यामा हराउने बालिका १४ देखि १८ वर्ष उमेरसमूहका रहेको बताए। ‘बर्र्सेनि हराउने बालकालिकाको संख्या हेर्दा एकदेखि १४ वर्ष उमेर समूहका बालक र बालिकाको संख्या बराबर नै देखिन्छ,’ दाहालले भने, ‘तर १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको तथ्यांक हेर्दा हराउने बालिकाको संख्या ह्वात्तै बढेको देखिन्छ। किशोरावस्था पुगेका हराउने बालिकाको संख्या बालकको भन्दा तेब्बर बढी देखिन्छ।’

केन्द्रको तथ्यांकअनुसार आव २०७४/७५ मा हराएका दुई हजार तीन सय ३० बालबालिकामध्ये बालकको संख्या नौ सय २३ छ भने बालिकाको संख्या एक हजार चार सय सात छ। उक्त तथ्यांकलाई उमेरसमूहको आधारमा हेर्दा एकदेखि १४ वर्ष उमेर समूहमा बालक ६ सय ३७ र बालिका चार सय ५१ गरी जम्मा एक हजार ८८ बालबालिका हराएका छन् भने १५ देखि १८ वर्षसम्मको तथ्यांक हेर्दा हराउने बालिकाको संख्या नौ सय ५८ छ भने बालकको संख्या दुई सय ८४ रहेको छ।

आव २०७४/७५ किशोरावस्थामा हराउने बालिकाको संख्या आव २०७५/७६ मा आइपुग्दा अझ बढेको छ। केन्द्रले तयार पारेको आव २०७५/७६ को तथ्यांकमा १५ देखि १८ वर्ष उमेरसमूहमा हराउने बालिकाको संख्या मात्रै एक हजार ६ सय ८५ रहेको छ। सोही उमेर समूहमा हराउने बालकको संख्या भने चार सय दुई रहेको छ। केन्द्रको तथ्यांकको आधारमा पनि पुष्टि हुन्छ कि किशोरावस्थामा हराउने बालकभन्दा बालिकाको संख्या एकदमै उच्च र भयावह छ।

चालु आवको पुस मसान्तसम्मको तथ्यांकअनुसार ६ महिनाको अवधिमा हराउने बालबालिकाको संख्या १७ सय १६ रहेको छ। जसमा बालकको संख्या पाँच सय ४८ र बालिकाको संख्या ११ सय ६८ रहेको छ। केन्द्रका इन्चार्ज दाहालले किशोरावस्थामा हराउने बालिका बढी मात्रामा यौन र आपराधिक कार्यमा संलग्न हुन पुगेको बताउँछन्। आफ्ना अभिभावकले बालबालिकाको मनोविज्ञान बुझ्न नसक्दा, अभिभावकको संरक्षण नहुँदा, साथीभाइको लहलहैमा लाग्दा, धनसम्पत्ति र विवाहको प्रलोभनमा फस्दा र गरिबीका कारण घर छोडेर हिँड्ने र पछि हराउने वा बेचिने गरेको उनको भनाइ छ।

मञ्जु गौतमले नागरिकमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्