घरमै बसेर निरन्तर अध्ययन

Avatar photo

Byएजुकेशन पाटी

१ असार २०७७, सोमबार

काठमाडौँ  । कोरोना भाइरसको सङ्क्रमणका कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् ।

विद्यार्थीले अब शिक्षण सिकाइमा प्रयोग हुने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन अध्यापन निरन्तर गर्नेछन् । निजी क्षेत्रका कतिपय विद्यालयले भने वैशाखबाटै विद्युतीय माध्यमबाट पठनपाठन सुरु गरिसकेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लामो समयसम्म अवरुद्ध पठनपाठनबाट पुग्न जाने शैक्षिक क्षति न्यून गर्न अपरिहार्य भएको भन्दै विद्यालय जाने उमेर समूहका विद्यालयलाई असार १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने घोषणा जेठ १८ गते गर्नुभएको थियो ।

विद्यार्थीको पठनपाठन प्रभावकारी बनाउन मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहज बनाउन निर्देशिका जारी गरिसकेको छ । निर्देशिकाले विद्यार्थीलाई वर्गीकरण गर्नुका साथै स्थानीय सरकार, विद्यालय तथा शिक्षकले वैकल्पिक शिक्षाको पठनपाठनमा सहयोग गर्नुपर्ने कामका बारेमा स्पष्ट गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसलाई कार्यान्वयनमा लैजान स्थानीय तह तथा विद्यालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक गेहनाथ गौतमले विद्यार्थीको सिकाइ निरन्तर बनाउन र शैक्षिक सत्र बिग्रन दिन नहुने पक्षमा विचार गरी वैकल्पिक विधिबाट पठनपाठन सुरु गर्न लागिएको बताउनुभयो । यो विधिबाट गरिने पठनपाठनलाई स्पष्ट पार्न निर्देशिका जारी गरिएकाले स्थानीय सरकार तथा विद्यालयले यसलाई अनुसरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सरकारले जारी गरेको निर्देशिकामा विद्यालय जाने उमेर समूहका विद्यार्थीको समूहगत वर्गीकरण गर्नुपर्ने उल्लेख छ । सो अनुसार विद्यार्थीलाई सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेको विद्यार्थीको समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थीको समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थीको समूह, कम्प्युटर भएको तर अनलाइन नभएका विद्यार्थीको समूह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह गरी पाँच समूहमा वर्गीकरण गर्नुपर्ने छ ।

विद्यालयको तयारी
सरकारको निर्देशनपछि सोमबारदेखि वैकल्पिक विधिबाट पठनपाठन अगाडि बढाउन विद्यालयले तयारी सुरु गरेका छन् । विद्यालयको प्रशासन पनि असार १ गतेबाट खुला रहनेछ । सो अनुसार शिक्षकले आफू कार्यरत विद्यालयको व्यवस्थापनसँग नजिक रहेर काम गर्नुपर्ने सरकारी अधिकारीले बताएका छन् । शिक्षकले विद्यालयमा पुगेर वा आफ्नै हिसाबले पनि विद्यार्थीलाई पठनपाठन गराउन सक्ने जनाइएको छ ।

यसमा विद्यार्थीलाई पहुँचका आधारमा वर्गीकरणसमेत गरेर विद्यालयले तयारी अघि बढाएका हुन् । काठमाडौँको नीलबाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक जानुका नेपाल विद्यार्थीसँग सम्पर्क स्थापित गरी पढाउने विधिको तयारीमा आफूहरू जुटेको जानकारी दिनुभयो ।
अनलाइनबाट माध्यमिक तहका २५ प्रतिशतभन्दा धेरै विद्यार्थी समेट्न सक्ने स्थिति नभएको भन्दै उहाँले अन्य विद्यार्थीलाई रेडियो तथा टिभीको माध्यमबाट सिकाइ निरन्तर बनाउनुपर्ने स्थिति रहेको बताउनुभयो । विद्यालयसँग सम्पर्कमा आएका विद्यार्थीलाई पाठ्यपुस्तक समेत उपलब्ध गराइएको जानकारी उहाँले दिनुभयो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यस पटक आवश्यक पाठ्यपुस्तक छपाइ गरी सम्बद्ध डिलरकहाँ पठाइसकेको जनाएको छ । डिलर मार्फत नै विद्यालयमा पुस्तक पु¥याउने व्यवस्था मिलाइएको छ ।

ललितपुरस्थित प्रभाव माविका प्रधानाध्यापक राजेन्द्रप्रसाद तिमिल्सिनाले नयाँ परिस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै सानो समूहमा मात्रै अनलाइन कक्षामा समावेश हुन सक्ने अवस्था रहेको बताउनुभयो । चुनौती भए पनि पठनपाठन अगाडि बढाउनैपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुुभयो ।

शेषकान्त पण्डितले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्