जोमसोम । हिमाली जिल्ला मुस्ताङका कुल ६६ मध्ये ४९ विद्यालयमा वैकल्पिक प्रणाली दूर शिक्षा कक्षाबिहीन छ । तर, जिल्लाको थासाङमा २ माविसहित १३ सामुदायिक ,घरपझोङमा २ सामुदायिक र वारागुङ मुक्तिक्षेत्र गाउपालिकामा २ सामुदायिक गरी १७ सामुदायिक विद्यालयले मात्र वैकल्पिक कक्षा संञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालले जानकारी दिए ।

सरकारले गत असार १ गते देखि लागु हुनेगरी जेठ २८ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गर्‍यो । सरकारले वैकल्पिक प्रणाली अन्र्तगत रेडियो ,टेलिभिजन तथा अनलाईन कक्षाको दुर शिक्षा पढाइ सञ्चालन गर्ने निर्देशिकासँगै मुस्ताङको थासाङ गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयमा गत असार १ गतेबाट वैकल्पिक कक्षा संञ्चालनमा ल्यायो।

तर,थासाङले पालिकाभित्रका पुरै विद्यालयमा वैकल्पिक कक्षा सुरु गरेपनि जिल्लाको घरपझोङमा ढुम्बा आवि र नमूना आविले मात्र वैकल्पिक कक्षाको विद्यार्थी सिकाइ सहजीकरण गर्‍यो। यस्तै ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जनशान्ति मावि र जननर्मल आविले पनि वैकल्पिक कक्षा सुरु गरेको समन्वय इकाइ प्रमुख बरालले जानकारी दिए ।

मुस्ताङको थासाङले १३ वटै विद्यालयमा वैकल्पिक प्रणालीको शिक्षा संञ्चालन गरेपनि घरपझोङका २ सामूदायिक मावि र १ निजी माविसहित ६ वटा विद्यालयले भने वैकल्पिक कक्षा संञ्चालन गर्न सकेनन् । यस्तै ,वारागुङ मुक्तिक्षेत्रको १ मावि, १ गुम्बा र ३ वालविकास केन्द्रसहित १७ विद्यालय मध्ये २ सामुदायिक विद्यालयले मात्र वैकल्पिक शिक्षा पढाईलाई निरन्तरता दिएको वारागुङ मुक्तिक्षेत्रका शिक्षा अधिकृत शिव खड्काले जानकारी दिए ।

यस्तै ,उपल्लो मुस्ताङका २ स्थानीय तहमा भने वैकल्पिक प्रणालीको रेडियो,टेलिभिजन र अनलाईन कक्षाको पढाई संञ्चालनमै आउन नसकेको लोघेकर दामोदरकुण्डका शिक्षा अधिकृत प्रकाश नेपालीले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङमा अनलाईक कक्षाको पढाई संम्भव नभएको तर टेलिजिन र रेडियोबाट वैकल्पिक कक्षा पढाई सुरु गर्नसकिने भएपनि हालसम्म कक्षा संञ्चालन हुन नसकेको हो ।

उपल्लो मुस्ताङको लोमान्थाङमा ४ गुम्बा ,२ निजी विद्यालय,१ सामुदायिक माविसहित १६ विद्यालय छन् भने लोघेकर दामोदरकुण्ड गाउपालिकामा २ गुम्बासहित १२ सामुदायिक विद्यालय छन् । मुस्ताङमा सामुदायिक ५४,गूम्बा ८ र संस्थागत निजी ४ वटा विद्यालय रहेको छ ।

विद्यार्थीको घरमा रेडियो ,टेलिभिजन र इन्टरनेट लगायतको सुविधा नहुदा वैकल्पिक कक्षाको व्यवस्था विद्यालयमै गरिएको थासाङका शिक्षा संयोजक टंकनाथ पौडेलले जानकारी दिए ।वैकल्पिक कक्षा पूर्ण नभएको र यसले बिद्यालय ,शिक्षक र विद्यार्थीबीचको सम्बन्ध जोड्ने पुलको भूमिका निभाएको संयोजक पौडेलको भनाइ छ ।

हिमाली जिल्लाको शैक्षिक सत्र फागुनमा सुरु भएर मंसिरमा सकिन्छ । उपल्लो मुस्ताङका २८ वटा विद्यालयले कार्तिकमै शैक्षिक सत्र सकेर जाडो छल्न बेशी झर्ने परम्परा छ । चालु वर्षको शैक्षिक सत्र सुरुआतसंगै घरपझोङ,थासाङ र वारागुङका विद्यालय भर्ना अभियानसंगै कोरोना कहरका कारण लकडाउनले बन्द भयो । उपल्लो मुस्ताङबाट घुम्तीमा झरेका विद्यालय भने विद्यालय खोल्न समेत पाएनन् ।

पछिल्लो समय सरकारले शिक्षकहरुलाई श्रावण मसान्तसम्म विद्यालयमा हाजिर हुन निर्देशन गरेकाले मुस्ताङका अधिकाश विद्यालयका शिक्षक विद्यालय फर्किए । तर,कोरोना संक्रमितको दर वृद्धिभएसँगै अझै विद्यालय संञ्चालन गर्नसक्ने अवस्था बनेन । जिल्ला फर्किएका शिक्षकले विद्यालयको आन्तरिक कामकाज बाहेक कक्षा संञ्चालन गर्ने अवस्था नरहेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक कक्षालाई शैक्षिक सत्र मान्यता दिने जनाएपनि मुस्ताङका ४९ विद्यालयमा भने वैकल्पिक माध्यमको दुर शिक्षा संञ्चालन हुन नसकेको हो ।

शिक्षा विकास तथा प्रविधि मन्त्रालयले आउदो असोज १ गतेदेखि लागु हुनेगरि बिहिबार ‘बिद्यार्थी सिकाई सहजीकरण गरेको छ । सरकारले शैक्षिक सत्रलाई खेर जान नदिन दोश्रो निर्देशिका जारी गरेको हो । यसअघिको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण अभ्यासको अनुभवलाई समेत समावेश गरी राष्ट्रिय पाठ्क्रम प्रारुपले निर्दिष्ट गरेका सिकाई उपलब्धि हासिल गर्ने र विद्यार्थीलाई परिवेश अनुकूल सिक्ने वातावरण सृजना गरी सहजीकरण गर्न दुर तथा खुला शिक्षा लगायतका प्रणालीलाई तत्कालका लागि शिक्षण सिकाई कार्यलाई प्रभावकारी तुल्याउन बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जनाएको छ । योसँगै सम्बन्धित पालिकाको अनुमतिबाट असोजदेखि विद्यार्थी सिकाइ सहजीकरण कक्षा सञ्चालन गर्ने मार्ग खुलेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

सुन्दरकुमार थकालीले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्