बिर्तामोड । झापाको एक सहकारी संस्थाले विपन्न जाति समुदायका विद्यार्थीलाई एमबीबीएस पढाउने योजना अघि सारेको छ । चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले लोपोन्मुख एवं सीमान्तकृत विद्यार्थीका लागि यस्तो योजना ल्याएको हो ।

आर्थिक अवस्था कमजोर भएका, अतिविपन्न वर्गका किसान, लेप्चा, मुसहर, सन्थाल जातिका बस्तीमा चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको खोजी भइरहेको सहकारीका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले बताए । सहकारीले सामाजिक विकास योजनाअन्तर्गत यस्ता १० जना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउन लागेको उनको भनाइ छ । ‘संस्थाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने नीति लिएको छ,’ उनले भने, ‘यसअन्तर्गत गरिब, विपन्न परिवारका छोराछोरी पनि डाक्टर पढ्न सकून् भन्ने उद्देश्यले कार्यक्रम अघि सारेका हौं ।’

कार्यविधिअनुसार छनोटमा परेका विद्यार्थीलाई एमबीबीएस अध्ययन गर्न संस्थाले प्रतिविद्यार्थी २५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको गिरीले बताए । ‘एमबीबीएस पढ्न संस्थाको तर्फबाट २५ लाख रुपैयाँ पूर्ण अनुदान दिन्छौं, अध्ययन सक्न लाग्ने थप रकम पनि बिनाब्याज २५ लाखसम्म ऋण दिने निर्णय गरेका छौं,’ उनले भने, ‘क्षमता भएर पनि आर्थिक अभावले डाक्टर पढ्नबाट वञ्चित अतिविपन्न परिवारका छोराछोरीलाई सहयोग पुग्ने गरी योजना बनाइएको हो ।’ पढाइप्रति विद्यार्थी र परिवारलाई पनि जिम्मेवार बनाउन थप रकम ऋण दिने निर्णय गरेको उनको भनाइ छ । ‘निर्ब्याजी भएकाले एमबीबीएस अध्ययनपछि विद्यार्थीलाई ऋण चुक्ता गर्न गाह्रो हुँदैन,’ उनले भने ।

झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर कार्यक्षेत्र रहेको सहकारीले कार्यक्रम राम्ररी अघि बढे १० जनाभन्दा बढीलाई पनि एमबीबीएस पढाउने योजना बनाएको प्रमुख कार्यकारी गिरी बताउँछन् । ‘मुलुकमा बर्सेनि सयौं डाक्टर उत्पादन हुन्छन् तर मोफसलका स्वास्थ्य संस्थामा अझै पनि डाक्टर भेटिन्नन्,’ उनले भने, ‘हाम्रो सहयोगले अतिविपन्न परिवारका छोराछोरीले एमबीबीएस पढ्न पनि पाउँछन्, गाउँगाउँबाट डाक्टर जन्माउने अभियानले सफलता पनि पाउँछ ।’

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्