काठमाडौं। विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँग वार्ता गर्न भन्दै विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको हो ।

आजै परिषद्ले सरकारसँग वार्ता गर्नको लागि आठ सदस्यीय समिति गठन गरेको थियो । परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक पत्र पठाउँदै वार्ताका लागि आह्वान गरेसँगै परिषद्ले वार्ताका लागि समिति गठन गरेको हो ।

अब शिक्षा मन्त्रालयले वार्ता कमिटी बनाएपछि औपचारिक छलफल प्रारम्भ हुने बताइएको छ।गत १ भदौबाट आन्दोलन गर्दै आएका विद्यालयका कार्यालय सहयोगी र लेखापालहरूले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्दै आइरहेका थिए ।

सोमबार मन्त्रालय, शिक्षक महासंघ र परिषदबीच मन्त्रालयमा भएको छलफलमा मन्त्रालयले समिति बनाएर वार्ता गर्ने भएपछि परिषद्ले आन्दोलन फिर्ता लिएको हो । उनीहरुले आन्दोलन फिर्ता लिएसँगै मंगलबारदेखि विद्यालय खुल्ने भएका छन् ।

सोमबार भएको छलफलमा मन्त्रालयले विद्यालय कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्ने प्रतिवद्धता गरेपछि आन्दोलन स्थगित गरेको परिषदका महासचिव शान्तिनाथ योगीले बताए ।

‘आज सरकार, शिक्षक महासंघ र परिषदबीच सामान्य छलफल भयो । सरकारले वार्ता टोली गठन गरेर वार्ता गर्ने भएको छ । त्यसैले तत्काललाई हामीले आन्दोलन फिर्ता लिएका छौं’ उनले भने । अब हुने वार्तामा चित्तबुझ्दो सहमति नभए फेरि आन्दोलन थाल्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्