काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रविधिमैत्री शिक्षक निर्माणलाई जोड दिएको छ ।

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन शैक्षिक तालिम केन्द्रलाई ७ करोड ९५ लाख बजेट व्यवस्था गरेको जानकारी दिए ।

प्रदेशले कोभिड–१९ लक्षित हुने गरी संघ र स्थानीय तहको साझेदारीमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र मार्फत सञ्चालन हुने तालिमका लागि १० करोड ५० लाख र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रमार्फत् सञ्चालन हुने तालिमका लागि ९ करोड ८९ लाख विनियोजन गरेको गुरुङले बताए ।

हेर्नुहोस् प्रदेशको बजेटमा समेटिएको शिक्षा बजेट
१. गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको पूर्वाधार विकास र सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिएकोछु । गण्डकी विश्वविद्यालय अन्तर्गत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन कार्य आगामी आर्थिक वर्षमा सुरु गर्ने गरी रू..४२ करोड ७५ लाख व्यवस्था गरेकोछु ।

२. सामुदायिक विद्यालयमध्येबाट छनौट भएका विद्यालयलाई आदर्श विद्यालय र नमूना आवासीय विद्यालयको रुपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएकोछु । गुरुकुल, गुम्बा, मदरसा, भाषिक पाठशाला जस्ता वैकल्पिक विद्यालयको पूर्वाधार विकासमा आवश्यक बजेट विनियोजन गरेकोछु ।

३. एमबीबीएस लगायत उच्च प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा छनौट भएका दलित, अल्पसंख्यक तथा गरिब विद्यार्थीलाई थप प्रोत्साहन गर्न उच्च शिक्षा प्रोत्साहन छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएकोछु ।

४. उच्च शिक्षा अध्ययनरत दलित, अल्पसंख्यक तथा गरिब विद्यार्थीलाई प्रदेश सरकारको आवश्यकताका क्षेत्रमा अनुसन्धान गर्न शोधवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएकोछु ।

५. शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन शैक्षिक तालिम केन्द्रलाई रू. ७ करोड ९५ लाख बजेट व्यवस्था गरेकोछु ।

प्रतिकृया दिनुहोस्