काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कक्षाकोठा बाहिर शिक्षकलाई राजनीति गर्ने छुट भएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन बाग्मति प्रदेशको दोस्रो र तेस्रो प्रदेश परिषदलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकको राजनीति गर्ने अधिकार भएको ठोकुवा गरेका हुन् । तर, सरकारले शिक्षकलाई राजनीतिक क्रियाकलाप गर्न रोक लगाएको छ ।

प्रचण्डले शिक्षकको राजनीतिक अधिकारको लागि निरन्तर संघर्ष गर्ने पनि स्पष्ट पारे । उनले पार्टीको आगामी बैठकमा शिक्षकहरुको राजनीतिक जिम्मेवारीको विषयमा ठोस निर्णय हुने बताए ।

अब विद्यालयमा सत्र थरीका शिक्षक हुन नहुने भन्दै प्रचण्डले विभिन्न पद भएपनि सेना–प्रहरी मात्र सेना–प्रहरी भएजस्तै शिक्षकहरुलाई पनि एकैखाले शिक्षक बनाइने जिकिर गरे । माओवादी केन्द्रको शिक्षामन्त्रीले शिक्षानीति, शिक्षक मोर्चा र शिक्षक सुविधा समेटेर शिक्षा विधेयक ल्याउन खोजेको भएपनि वर्तमान प्रधानमन्त्रीले ल्याउन नदिएको उनले दावी गरे ।

आफ्नो पार्टी र आफूले पटक–पटक इसिडि, अस्थायी, करार, द्वन्द्वपीडित, साविक उमावि शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधनको प्रयास गरेपनि प्रधानमन्त्री सकारात्मक नहुँदा सम्भव हुन नसकेको प्रचण्डले खुलासा गरे ।

कार्यक्रममा इसिडि तथा अस्थायी करार शिक्षकले आफ्ना माग समेटेर पूर्व प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले उत्पीडित शिक्षक,विद्यालय कर्मचरी, संघीय शिक्षा ऐन, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको कार्यान्वयन, शिक्षक अस्पतालको व्यवस्था लगयतको मग लिएर आन्दोलनमा जाने उद्घोष गरे ।

शिक्षक महासंघको नेतृत्वमा अवकाश प्राप्त शिक्षकको दादागिरी हुँदा महासंघ निस्क्रिय देखिएको भएपनि अब महासंघ शिक्षक र कर्मचारीको मुद्दा लिएर सडक आन्दोलनमा जाने अधिकारीले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्