कृपया अनलाइन कक्षा सुचारु गरिदिनुहोस् न

एजुकेशन पाटी

Byएजुकेशन पाटी

५ श्रावण २०७७, सोमबार
एलिस ढकाल

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड – १९ का कारण हरेक मानिसको दैनिक जीवन निकै कष्टकर र कहालीलाग्दो बनेको छ। लामो समयदेखि भएको लकडाउनका कारण हामी सबै घरमा नै कैद भएका छौँ । यस्तो कहालीलाग्दो परिस्थितिका कारण सबै विद्यार्थीहरू भौतिक रूपमा विद्यालयमा उपस्थित भई शिक्षा आर्जन गर्नबाट वञ्चित भएका छन् । सिक्ने र सिकाउने विभिन्न विकल्प हुँदा हुँदै पनि तिनलाई प्रयोगमा ल्याउन सकिएको छैन । प्रयोगमा ल्याइएका माध्यमलाई पनि चौतर्फी रूपमा आलोचनाको वर्षा गराइएको छ, जसले गर्दा मजस्ता तमाम विद्यार्थीहरू शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारबाट वञ्चित भएका छौँ ।

हाम्रो देशमा सबैको पहुँचमा विद्यालय शिक्षा त पुग्न सकेको छैन भने अनलाइन कक्षा सबैको पहुँचमा पुग्ने भन्ने कुरै भएन। अनलाइन शिक्षण नेपालका सन्दर्भमा नौलो पद्धति थियो। कतिपयले प्रयोग गरे भने कतिपयले प्रयोग नै नगरी केवल यसको आलोचनामा मात्र उत्रिए। त्यसैगरी कसैले इच्छा हुँदा हुँदै पनि प्राविधिक समस्याका कारण प्रयोग गर्न पाएनन्। कुनै पनि कुराको आलोचना गर्नुभन्दा अगाडि त्यसको प्रभावकारिताका विषयमा पनि बुझ्ने प्रयास गर्ने हो भने सायद अहिले देखिएका जस्ता समस्या देखिने थिएनन् होला।

चैत्र महिनादेखि विद्यालय बन्द हुँदा हाम्रो सिकाइमा गम्भीर असर परेको थियो। तर विद्यालयले हाम्रा लागि सञ्चालन गरेको अनलाइन कक्षा निकै प्रभावकारी भएको हामीले प्रत्यक्ष महसुस गरेका छौँ। अनलाइन कक्षा प्रभावकारी हुँदैन र यसबाट उपलब्धिपूर्ण सिकाइ हुँदैन भन्नेहरूले कृपया हामीलाई हाम्रो विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा एकपटक अवलोकन गरिदिनुहुन अनुरोध छ। मेरो विचार र अनुभवमा अनलाइन कक्षा र नियमित कक्षामा कुनै फरक नै छैन। बरु अनलाइन कक्षा अझ बढी प्रभावकारी बनेको छ भन्ने अनुभूति भएको छ।

हिजो मात्र सामाजिक सञ्जाल र अनलाइन मिडियाहरूमा एउटा समाचार भाइरल भयो। संस्थागत विद्यालयहरूका छाता संगठन प्याब्सन र एन प्याब्सनले अनलाइन (भर्चुअल) कक्षा बन्द गर्ने! यो समाचारले मेरो मनमा निकै ठूलो चोट पुग्यो। विद्यालयमा गएर सिक्न नपाए पनि हामीले घरबाट नै धेरै कुरा सिकिरहेका थियौँ। नियमित रूपमा अनलाइन कक्षा लिँदा यसै कक्षासँग अभ्यस्त हुँदै गएका थियौँ।

अनलाइनमार्फत घरमा बसी बसी सिकाइ हुन सक्दो रहेछ भन्ने कुरामा हामी विद्यार्थी र अभिभावक ढुक्क हुँदै गएका थियौँ। यस्तो विकराल परिस्थितिमा घरमा नै बसेर उपलब्धिपूर्ण सिकाइ हुन सक्छ भने किन अनलाइन कक्षा सञ्चालन नगर्ने त भन्ने कुरामा अभिभावकहरू पनि निश्चिन्त हुन थाल्नुभएको थियो। एक्कासि गरिएको यस प्रकारको निर्णयले मजस्ता तमाम विद्यार्थीको मनोविज्ञानमा गम्भीर असर परेको छ।

पढ्न र सिक्न पाउनु हरेक विद्यार्थीको नैसर्गिक अधिकार हो। यो संविधान प्रदत्त मौलिक अधिकार हो। केही संस्थाहरूले मनोमानी रूपमा बन्द गरेको अनलाइन कक्षाका कारण विद्यार्थीको सिकाइ प्रक्रियामा गम्भीर आघात पुगेको छ। सबैको पहुँचमा इन्टरनेटको सुविधा छैन भन्दैमा पहुँच भएकाले अनलाइनका माध्यमबाट सिक्नु के अपराध हो ? सबैको पहुँच छैन भन्दैमा के पहुँच भएकालाई पनि सिकाइबाट वञ्चित गराउनु महानता हो? यी विषयमा हामी सबैले गम्भीर भएर सोच्नुपर्छ र सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्छ।

संस्थागत विद्यालयहरू घोषित रूपमा नै मुनाफा कमाउन र शिक्षा प्रदान गर्न खोलिएका हुन्। त्यसैले अनलाइन कक्षाको पनि निश्चित मापदण्डअनुसार शुल्क तिर्नुपर्छ होला। संस्थागत विद्यालयको मुख्य आयस्रोत नै अभिभावकले तिर्ने शुल्क भएको हुँदा र अभिभावक आफैँले लागेको पैसा तिर्न तयार भएर आफ्ना बालबच्चाहरू निजी विद्यालयमा भर्ना गरेका हुन्। यस्ता विषयमा मजस्ता विद्यार्थीहरूले चासो नराख्नुपर्ने हो तर यही कारण अनलाइन कक्षा बन्द हुँदा बाध्य भएर चासो राख्नुपर्ने परिस्थिति सिर्जना भएको छ।

परिस्थिति कठिन छ। तत्काल विद्यालय खोल्ने र नियमित रूपमा कक्षा सञ्चालन हुने स्थिति पनि छैन, त्यसैले सम्बन्धित सबैले बेलैमा विचार पुर्‍याएर समस्या समाधान गर्नुपर्दछ। सबैले आफ्नो हठ र अहङ्कार त्यागेर कठिन परिस्थितिसँग सामना गर्दै अगाडि बढ्नुपर्छ। परिवर्तित समयसँगै नयाँ प्रविधिलाई उपयोग गर्न सक्नुपर्दछ। नेपाल सरकार, अभिभावक, विद्यालय र स्थानीय निकायसँगको चौतर्फी छलफलका माध्यमबाट तत्काल समस्या समाधान गरिनुपर्दछ। अनलाइन कक्षा बन्द गर्ने निर्णय तत्काल पुनर्विचार गरियोस्। यसमा केही समस्या छन् भने समाधान गर्नपट्टि लागौँ। विद्यार्थीको भविष्यसँग खेलबाड नगरौँ। एक वर्ष त बितेर जाला तर त्यो एक वर्षले दीर्घकालीन रूपमा पार्ने गम्भीर असरका बारेमा सौचौँ।

नेपाल सरकारले अभिभावकीय भूमिका निर्वाह गरेर तत्काल समस्या समाधान नगरे परिस्थिति विकराल बन्न सक्छ। हरेक कुरालाई अतिरञ्जित बनाउँदा त्यसले भयानक दुर्घटना निम्त्याउन सक्छ, त्यसैले तत्काल अनलाइन कक्षा पुनः सञ्चालन गरेर हाम्रो सिक्न पाउने अधिकार सुनिश्चित होस् भनी सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद!

(लेखक काठमाडौँ बूढानीलकण्ठ न. पा. ८ स्थित भ्याली पब्लिक माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।)

प्रतिकृया दिनुहोस्