काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक बिनानिस्कर्ष टुंगिएका हो ।
सरकार र आन्दोलनरत शिक्षकहरूबिच शनिबार वार्ता भएको थियो । नयाँ शिक्षामन्त्रीमा पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो । वार्तामा शिक्षक महासंघले आफना मागहरु मन्त्री पन्त समक्ष राख्दै आफ्नो अडानबाट पछि नहट्ने बताएपछि वार्तामा ठोस सहमति हुन नसकेको हो ।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी गराउने काम भएको बताए । उनले यसबारे थप वार्ता र छलफल गर्ने सहमति भएको बताए पनि अर्को वार्ताको मिति भने तय नभएको जानकारी दिए ।
‘हामीले मन्त्रालयमा उपस्थित भएर हाम्रा कुरा राख्यौँ । अग्रगामी विध्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान हो र यसबाट महसंघ टसमस नहुने जानकारी गराइयो ।’ महासंघका अध्यक्ष सुवेदीले भने ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए ।
आज भने बिहानै मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरू पुगेका थिए । गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।