सिन्धुली । शिक्षक अपहरणमा संलग्न भएको आरोपमा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका ८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिकाको महादेवडाँडाबाट पक्राउ गरी उनीहरुलाई प्रहरीले सोमबार बिहान सदरमुकाम ल्याएको हो । सात जना पुरुष आइतबार फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट र एक जना महिलालाई शनिबार दिउँसो तीनपाटन गाउँपालिका–८ लायोगाउँबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुबाट पाँचथान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी श्यामबहादुर क्षेत्रीले जानकारी दिए । तीन पाटन गाउँपालिका–८ तिल्पुङ्गडाँडाको भिमसेन आधारभस्त विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीलाई शनिबार अपहरण गरी भाग्ने क्रममा उनीहरुलाई घेरा हाली पक्राउ गरिएको डीएसपी क्षेत्रीले बताए ।

‘पक्राउ परेकासँग सोधपुछ गर्ने कार्य भइरहेको छ । कसैलै पनि आफ्नो वास्तविक नाम र ठेगाना भन्न मानिरहेका छैनन्,’ डीएसपी क्षेत्रीले भने, ‘उनीहरुको विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्ने छ ।’

प्रधानाध्यापक भण्डारीलाई लायोगाउँमा गाउँलेले घेरा हाली मुक्त गराएका थिए । शिक्षक अपहरणमा संलग्नको खोजीलाई प्रहरीले तीव्रता दिएको थियो । जंगल छिरेर फरार रहेका चन्द समूहका कार्यकर्ता भाग्ने सम्भावित नाकालाई प्रहरीले घेरा हाली सात जनालाई एकसाथ पक्राउ गरेको थियो भने एक जना महिलालाई गाउँलेहरुले नै प्रहरीको जिम्मा लगाइदिएका हुन् ।

राजकुमार कार्कीले कान्तिपुरमा खबर लेखेका छन् ।

 

प्रतिकृया दिनुहोस्